ब्राजिलियन स्ट्राइकर भिनिसियस टोनह्याममा, सेफिल्डले भित्र्यायो लिभरपुलका युवा स्ट्राइकर

प्रिमियर लिग क्लब टोटनह्यामले ब्राजिलियन स्ट्राइकर कार्लोस भिनिसियसलाई अनुबन्धन गर्दा सेफिल्ड युनाइटेडले लिभरपुलका युवा स्ट्राइकर रिहान ब्रेउस्टरलाई भित्र्याएको छ। टोटनह्यामले भिनिसियसलाई पोर्चुगिज क्लब बेन्फिकाबाट लोनमा अनुबन्धन गरेको हो भने सेफिल्डले ब्रेउस्टरलाई स्थायी अनुबन्धन गरेको हो।

भिनिसयस ३ मिलियन युरोमा लोनमा लन्डन क्लब आएका हुन् । बेन्फिकाले भिनिसियसलाई स्थायी अनुबन्धन गर्दै विकल्प पनि दिएको छ। अर्को सिजन टोटह्यामले भिनिसियसलाई ४५ मिलियन युरोमा स्थायी अनुबन्धन गर्न सक्ने छ।

२५ वर्षीय भिनिसियसले अघिल्लो सिजन बेन्फिकामा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले लिगमा १८ गोल गरेका उनले गोल्डेनबुट जितेका थिए। समग्रमा उनले अघिल्लो सिजन २४ गोल गरेका थिए ।

यसैगरी प्रिमियर लिग क्लब सेफिल्ड युनाइटेडले इंग्ल्यान्डका युवा स्ट्राइकर रिहान ब्रेउस्टरलाई अनुबन्धित गरेको छ । सेफिल्डले २० वर्षीय स्ट्राइकरलाई २३.५ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो। ब्रेउस्टरले सेफिल्डसँग पाँच वर्षको सम्झौता गरेका छन्।

लिभरपुलको एकेडेमीका उत्पादन ब्रेउस्टरले अघिल्लो सिजन लानमा स्वान्सी सिटीबाट खेलेका थिए। स्वान्सीका उनले २२ खेलमा ११ गोल गरेका थिए। सेफिल्डमा उनले २४ नम्बर जर्सी लगाउने छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.