एन्फाको युथ एकेडेमीको खेलाडी छनोट विवादमा

युथ एकेडेमीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको खेलाडी छनोट प्रक्रिया विवादमा परेको छ। युथ एकेडेमीका लागि एन्फाले शुक्रबार ४२ खेलाडीको नामावली सार्वजनिक गरेको थियो।

युथ एकेडेमीका लागि खेलाडी छनोट समितिका अध्यक्ष रहेका एन्फा उपाध्यक्ष कृष्ण थापाले नै एन्फाको निर्णयमा प्रश्न उठाएपछि खेलाडी छनोट पक्रिया विवादमा परेको हो। थापले आफूलाई जानकारी नै नदिइ अन्तिम लिस्ट सार्वजनिक गरिएको बताएका छन्।

एन्फाले सार्वजनिक गरेको ४२ खेलाडीको नामावलीबारे अनभिज्ञता प्रकट गर्दै थापाले संयोजकलाई थाहा नै नदिई अध्यक्ष कर्माछिरिङ शेर्पाले एकलौटी रूपमा खेलाडी छनोट गरेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘अध्यक्षले आफ्नो मान्छे राख्न मलाई सोध्दै नसोधी अन्तिम नामावली प्रकाशन गरे । यो छनोट अवैधानिक छ । ७२ जनाबाट पुनः छनोट गर्नुपर्छ ।’

यता, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पटक–पटक थापालाई सम्पर्क गर्दा समेत नआएपछि छनोट प्रक्रिया अगाडि बढाएको बताए । उनले भने, ‘म एउटा व्यक्तिले छनोट गर्ने होइन । युवा विकास समिति र प्राविधिक टिम बसेर टुंग्याएको कुरा हो ।’ अध्यक्ष शेर्पाले थापाले जिम्मेवारी लिएर अन्तिम लिस्ट नटुंग्याएकाले विद्यार्थीको भविष्य मध्यनजर गर्दै प्राविधिक टिमले निर्णय गरेको उनले बताए ।

थापा संयोजक रहेको समितिले वैशाख ६ देखि ९ सम्म काठमाडौंमा अन्तिम चरणको छनोटमा १६६ जनाबाट ७१ जना छनोट गरेको थियो । अन्तिम चरणको छनोटमा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, वाग्मती प्रदेशबाट ३३, गण्डकीबाट ३१, लुम्बिनीबाट ३०, कर्णालीबाट ८ र सुदूरपश्चिमबाट १२ खेलाडी सहभागी थिए ।

एन्फाले छनोट गरेका ४२ खेलाडी मध्ये २१ खेलाडीले पूर्ण छात्रवृत्ति पाउने छन् भने बाँकी २१ जनाले शुल्क तिर्नुपर्ने छ। एन्फाले थप ९ जनालाई वैकल्पिकमा राखेको छ। एकेडेमी सञ्चालनका लागि एन्फाले तीन विभागीय टिमसँग सम्झौता गरेको छ । छात्रवृत्ति पाएका २१ मध्ये नेपाल पुलिस क्लब, आर्मी क्लब र एपीएफ क्लबको एकेडेमीमा ७–७ जना रहनेछन् । बाँकी २१ जनाले भने शुल्क बेहोर्नुपर्छ।

Facebook Comments Box