यू–१८ महिला साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भुटानतर्फ लाग्यो

भुटानमा हुन लागेको यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन नेपाली महिला फुटलब टिम भुटान प्रस्थान गरेको छ ।

यू–१८ महिला साफ च्याम्पियनसिप असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने छ । २० खेलाडीसहित २३ सदस्यीय नेपाली टोली बुधबार दिउँसो भुटान प्रस्थान गरेको हो ।

भुटान गाएको नेपाली महिला टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच बिदाइ गरेको छ । नेपाली टोलीलाई एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष पंजविक्रम नेम्बाङ, महिला कमिटीका अध्यक्ष वृन्दा देवान, ओलम्पियन संगीना वैद्यलगायतले बिदाइ गरेका थिए ।

नेपालले पहिलो पाकिस्तानसँग खेल्ने
यू–१८ महिला साफ च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । श्रीलंकाले भने प्रतियोगितामा सहभागी छैन ।

यू–१८ साफ च्याम्पियनसिपमा सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा भारत, माल्दिभ्स र भुटान छन् भने समूह बीमा नेपालसहित पाकिस्तान र बंगलादेश छन् ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा असोज १२ गते पाकिस्तानसँग खेल्ने छ । यस्तै दोस्रो खेलमा नेपालल असोज १६ गते बंगलादेशको सामना गर्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

को–को छन् नेपाली टिममा
यू–१८ महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीको गोलपोस्ट अन्जना रानामगर, उषा नाथ, कविता राईले सम्हाल्ने छन् भने डिफेन्सको जिम्मा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा रानामगरले पाएका छन् ।

यस्तै मिडफिल्डमा सरु लिम्बू, मन्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सृजनासिंह ठकुरी र सम्झना लावती छन् । नेपाली टोलीको स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् ।

त्यसैगरी नेपाली टोलीको मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ छन् भने सहायक प्रशिक्षकमा प्रकाश वैद्य छन् । यस्तै गोलकिपर प्रशिक्षकमा अस्मिता खवास छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *