
यू–१९ साफ च्याम्पियनसिप नेपालमा हुने
यू–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार यू–१९ साफ च्याम्पियनसिप नेपालमा हुने जनाएको हो।
साफका अनुसार प्रतियोगिता आगामी जुलाई ७ देखि १७ सम्म आयोजना हुनेछ। नेपालले यसअघि सन् २०१५ मा पनि यू–१९ साफ च्याम्पियनसिप आयोजना गरेको थियो। जसमा नेपाल च्याम्पियन बनेको थियो।
प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, भारत, माल्दिभ्स र पाकिस्तान सहभागी हुनेछन् । प्रतियोगितामा श्रीलंका भने सहभागी हुने छैन । फिफाले श्रीलंकामाथि प्रतिबन्ध लगाएका कारण त्यो प्रतिबन्ध नहटेसम्म उसले साफका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैन।
यसैगरी साफ च्याम्पियनसिप यसै वर्ष भारतमा आयोजना हुने छ । मिति भने टुंगो लागेको छैन।
यस्तै, साफले साफ यू– १७ वुमन्स् च्याम्पियनसिप बंगलादेशमा मार्च २० देखि २८ सम्म गर्ने निर्णय पनि गरेको छ। साफ यू–१६ च्याम्पियनसिप १ देखि ११ सेप्टेम्बरमा भुटानमा आयोजना हुने भएको छ।