दुईदुई वर्षमा विश्वकप गरे युरोपका देशले विश्वकप नै बहिस्कार गर्ने

फिफाले हरेक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्ने प्रस्ताव पेश गरेको छ। तर, दुईदुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्ताव पेश गर्ना साथ युरोपियन फुटबल संघले प्रतियोगिता नै बहिस्कार गर्ने चेतावनी दिएको छ।

युइएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले युरोपका सबै देशले विश्वकप बहिस्कार गर्ने बताएका हुन्। २००२ मा ब्राजिलले विश्वकप जितेयता विश्व फुटबलमा युरोपियन दबदबा चलिरहेको छ।

फिफाले बिहीबार कतारमा एक कार्यक्रम आयोजना गर्दै ८० जना पूर्व अन्तर्राष्ट्रिय खेलाडीलाई निमन्त्रणा गर्दै दुईदुई वर्षमा विश्वकप आयोजना गर्ने आर्सेन वेंगरको योजनामाथि विमर्श गरेको थियो। विश्वकप विजेता खेलाडी समेत सहभागी सो छलफलबाट हरेक दुई वर्षमा विश्वकप आयोजना गर्नु प्रभावकारी हुने निष्कर्ष निस्किएको थियो।

आर्सनलका पूर्व म्यानेजर आर्सेन वेंगर पछिल्लो समय फिफाको ग्लोबल डेभलपमेन्ट डिरेक्टरका रुपमा कार्यरत छन्। वेंगरको हरेक दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावलाई साउदी अरेबियाको फुटबल संघले औपचारिक रुपमा फिफा कंग्रेसमा प्रस्तुत गरेको थियो।

युइएफएले भने फिफाले सो प्रस्तावमाथि औपचारिक छलफल सुरु गर्नुअघि सबै कन्फेडेरेसनसँग सल्लाह नगरेकोमा पनि असन्तुष्टी जनाएको छ। कन्फेडेरेसनबाट स्वीकृत भएपछि मात्र सदस्य देशसम्म पुग्नुपर्ने युइएफएको राय छ। सिफेरिनका अनुसार फिफाको दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावमा युइएफएमात्र नभएर दक्षिण अमेरिकी फुटबल संघ पनि असहमत छ।

साथै, उनले फिफालाई युरोप र दक्षिण अमेरिकी देशको सहभागिताबिना विश्वकप आयोजना गरेर देखाउन पनि चुनौती दिएका छन्। विश्वकपका सफल र विश्व फुटबलका पावरहाउस देशहरु रहेको दुई महादेशले प्रतियोगिता बहिस्कार गरे फिफाको सबैभन्दा ठूलो प्रतियोगिता असफल हुने युइएफएको धारणा छ।

तर, फिफाको सो प्रस्तावमा थुप्रै सदस्य राष्ट्रले सहमति जनाइसकेका छन्। नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि दुईदुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावको पक्ष लिएको छ। केही दिन अघि बंगलादेश, माल्दिभ्स र श्रीलंकाका फुटबल संघसँग मिलेर संयुक्त विज्ञप्ती निकाल्दै एन्फाले वेंगरको हरेक दुई वर्ष विश्वकप आयोजना गर्ने प्रस्तावको स्वागत गरेको थियो।

Facebook Comments Box