रोमाञ्चक खेलमा युक्रेनसँग नर्थ मेसेडोनिया पराजित

युक्रेनले जारी युरोकपमा पहिलो जित निकालेको छ। युक्रेनले बिहिबार भएको खेलमा नर्थ मेसेडोनियाविरुद्ध जित हात पारेको हो।

रोमाञ्चक खेलमा युक्रेन २–१ ले विजयी भएको थियो। रोमानियाको नेसनल एरेनामा भएको खेलमा युक्रेनले पहिलो हाफमै २–० को अग्रता लिएको थियो। युक्रेनका लागि एन्ड्री यार्मोलेन्को र रोमन यारेम्चुकले गोल गरेका थिए।

नर्थ मेसेडोनियाका लागि एज्जान एलिओसले १ गोल फर्काएका थिए। ५७औं मिनेटमा प्राप्त पेनाल्टी युक्रेनका गोलकिपर हेओर्ही बुस्कानले रोकेपछि रिबाउन्डमा आएको बलमा एलिओसले गोल गरेका हुन्।

युक्रेनले खेलको ८४औं मिनेटमा पेनाल्टी पाउँदै थप गोल गर्ने अवसर पाएको थियो। तर, युक्रेनका रुस्लान मालिनोभ्सकीले प्रहार गरेको पेनाल्टी नर्थ मेसेडोनियाका गोलकिपर स्टोल दिमित्रिएभ्स्कीले बचाएका थिए।

जितसँगै समूह ‘सी’ मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ ले पराजित भएको थियो। नर्थ मेसेडोनियाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको नर्थ मेसेडोनिया समूहको पुछारमा छ।

Facebook Comments Box