
रास्फोर्डको गोलमा युनाइटेडको जित
मार्कस रास्फोर्डले निर्णायक गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। शनिबार भएको खेलमा रास्फोर्डको गोल मद्दतमा युनाइटेडले वुल्भ्सलाई उसकै मैदानमा १–०ले हरायो ।
निकै प्रतिस्पर्धात्म बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । उनले खेलको ७३औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए।
लिगमा युनाइटेडको लगातार पाचौं जित हो । गत अक्टोबरमा चेल्सीसँग १–१ गोलको बराबरी खेलेयता युनाइटेड सबैखेलमा विजयी भएको छ।
यस्तै, युनायटेडले वुल्भ्सविरुद्ध लगातार ३ अवे खेल जितेको यो पहिलो पटक हो । युनाइटेडले सन् २०११ यता वर्षको अन्तिम खेलको अपराजित यात्रालाई निरन्तरता थियो । सन् २०११ मा उ ब्ल्याकबनसँग ३–२ ले पराजित भएको थियो ।
जितसँगै युनाइटेड चौथो स्थानमा उक्लिएको छ। उसले १६ खेलमा ३२ अंक जोडेको छ। यता, वुल्भ्स भने १३ अंकसहित १९औं स्थानमा छ।