भिल्लारियलसँग बराबरी खेल्दै सेभिया तेस्रो स्थानमा

भिल्लारियलसँग बराबरी खेल्दै सेभिया ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा सेभिया र भिल्लारियलले २–२ गोलको बराबरी खेले ।

बराबरीसँगै सेभियाको ५३ अंक भएको छ र, उसले एट्लेटिको मड्रिडलाई १ अंकले उछिन्यो । यद्यपि एट्लेटिको १ खेल कम खेलेको छ । भिल्लारियल ४८ अंकका साथ छैठौं स्थानमा छ । समान ६५ अंक जोडेका रियल मड्रिड र बार्सिलोना क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

खेलमा अग्रता घरेलु टोली भिल्लारियलले १८ औं मिनेटमा पाको अल्केसारको गोलबाट लिएको थियो । ३९औं मिनेटमा सेभियाका सर्जियो एस्कुडोले बराबरी गोल फर्काए । इन्जुरी समयमा पाउ टोरेसले गोल गरेपछि भिल्लारियलले पुनः अग्रता लियो । तर, ६३ औं मिनेटमा मुनिर अल हदादीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अर्को खेलमा लेगानेस र ग्रानाडाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । २५ अंकसहित लेगानेस १९औं स्थानमा छ भने ग्रानाडा ४३ अंक सहित तालिकाको नवौं स्थानमा छ । बराबरीपछि लेगानेसमाथि रेलिगेशनको दबाब थपिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.