बेलको ह्याट्रिकमा वेल्सको रोमाञ्चक जित

स्टार स्ट्राइकर गेराथ बेल चम्किएपछि फिफा विश्वकपको युरोपियन छनोटमा वेल्सले रोमाञ्चक जित निकालेको छ। आइतबार राति भएको खेलमा बेलले ह्याट्रिक गरेपछि वेल्सले बेलारुसमाथि ३–२को जित निकालेको हो।

बेलारुसको घरेलु मैदानमा बेलले सातौं मिनेटमा पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा भिटली लिसाकोभिचले पेनाल्टीमै गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो गोल गरेको १ मिनेटभित्रै बेलारुसले खेलमा अग्रता लियो। ३०औं मिनेटमा उसका पावेल सेड्कोले गोल गरेका थिए।

पहिलो हाफमा २–१ ले पछि परेको वेल्सले दोस्रो हाफमा २ गोल गर्दै खेल आफ्नो पक्षमा बनायो । ६९औं मिनेटमा बेलले नै पुनः पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमै बेलले नै गोल गर्दै वेल्सलाई ३–२ को रोमान्चक जित दिलाए भने आफ्नो ह्याट्रिक पनि पुरा गरे।

जितसँगै समूह इमा वेल्सले ३ खेलमा ६ अंक जोडेको छ र उ तेस्रो स्थानमा छ । बेलारुस ३ अंक जोडेर चौंथो स्थानमा छ ।

Facebook Comments Box