टर्कीविरुद्ध वेल्स विजयी, नकआउट पुग्ने सम्भावना बलियो

वेल्सले जारी युरोकपमा पहिलो जित हात पारेको छ। बुधबार राति टर्कीलाई २–० ले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो।

अजरबैजनको बाकुमा भएको खेलमा वेल्सका लागि आरोन राम्जी र कोनर रोबट्र्सले समान एक–एक गोल गरे। दुवै गोलमा ‘म्यान अफ द म्याच’ भएका ग्यारेथ बेलको एसिस्ट रहेको थियो।

राम्जीले खेलको ४३औं मिनेटमा वेल्सलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै, दोस्रो हाफको इन्जुरी टाइमको पाँचौं मिनेटमा दोस्रो गोल थप्दै रोबर्ट्सले वेल्सको जित सुनिश्चित गरेका थिए।

उक्त प्रदर्शन गर्दै दुई एसिस्ट समेत गरेका बेलले खेलको ६१औं मिनेटमा प्राप्त पेनाल्टी भने सदुपयोग गर्न सकेका थिएनन्। टर्कीका जेकी सिलिकले डिबक्समा बेललाई नै लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो।

यससँगै बेल युरोकपमा पोस्टको फ्रेम बाहिर पेनाल्टी प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि स्पेनका राउलले २००० को युरोकपमा फ्रान्सविरुद्ध फ्रेमभन्दा बाहिर पेनाल्टी प्रहार गरेका थिए ।

जितसँगै २ खेलमा ४ अंक जोडेको वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। दुवै खेल गुमाएको टर्की भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ।

Facebook Comments Box