
वालिङ गोल्डकपमा क्यामरुनी टिमसँग हार्यो आर्मी क्लब, भरत खवासलाई सम्मान
विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै क्यामरुनको एभिनियर एफसी वालिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा एभिनियर एफसीले त्रिभुवन आर्मी क्लबमाथि ३–१को जित निकाल्यो।
एभिनियरको जितमा अब्देल, टिम्बा र अनिसेले गोल गरेका थिए भने आर्मीका दिनेश हेन्जनले गोल गरेका थिए। खेलमा चारै गोल पहिलो हाफमा भएको थियो।
२१औं मिनेटमा अब्देलको गोलमा एभिनियरले सुरुआती अग्रता लियो । २६औं मिनेटमा टिम्बाले एभिनियरको अग्रता दोब्बर बनाए। ४२औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकबाट गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरे।
तर, पहिलो हाफको इन्जुरी समयमा अनिसेले गोल गरेपछि एभिनियरले पहिलो हाफमा ३–१को अग्रता लियो । दोस्रो हाफमा कुनै गोल नहुँदा एभिनियर आर्मीलाई हराउँदै सेमिफाइनल पुग्यो।
फाइनल प्रवेशका लागि एभिनियरले वालिङ रेडसँग प्रतिस्पर्धा गर्नेछ।
यस्तै, खेलअघि आयोजक वालिङ युनाइटेड फुटबल क्लबले आर्मीका कप्तान र पूर्वराष्ट्रिय खेलाडी भरत खवासलाई सम्मान गरेको छ। नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै वालिङ युनाइटेडले भरत खवासलाई नगदसहित सम्मान गरेको हो।