युरोकपको सेमिफाइनल र फाइनल वेम्बलीमा ६० हजार दर्शकले हेर्ने

युरोकप फुटबलको सेमिफाइनल र फाइलन खेल ६० हजार दर्शकले प्रत्यक्ष हेर्ने भएका छन्। युरोपियन फुटबल महासंघ (युइएफए)ले इंग्ल्यान्डको वेम्बलीमा हुने जारी युरोकपको सेमिफाइनल र फाइनल हेर्नका लागि ६० हजार दर्शक उपस्थित हुने जनाएको छ।

यसका लागि युईएफएले बेलायत सरकारसँग अनुमति मागेको छ। युरोकप हेर्न लन्डन पुग्ने विदेशी दर्शकले कति दिन क्वारेन्टिन खेल हेर्न पाउने हो, त्यसबारे भने प्रस्ट केही भनिएको छैन ।

बेलायत सरकारले समूह चरणको खेलमा २२ हजार दर्शकलाई प्रवेश दिएको थियो भने अन्तिम १६ को खेल हेर्न ४० हजार दर्शक उपस्थित हुन अनुमति दिएको छ । सेमिफाइनल र फाइनल हेर्न ७५ प्रतिशत दर्शक रंगशालामा उपस्थित हुन दिन युईएफएले सरकारसँग सहमति मागेको छ।

‘पछिल्लो १८ महिना हामी सबैका लागि निकै खराब रह्यो । यो समय हामीले फुटबल समर्थकको कति धेरै महत्त्व छ भनेर बुझ्यौं’, महासंघका अध्यक्ष एलेक्जेन्डर सेफरिनले भनेका छन्, यो प्रतियोगिता हामी सबै सामान्य जीवनमा फर्किरहेका छौं भनेर देखाएको छ । अन्तिम तीन खेलमा जुन व्यवस्था हुन लागेको छ, त्यसका लागि बेलायती प्रधानमन्त्री र सरकारलाई धन्यवाद दिनुपर्छ ।’

बेलायतमा बाहेक अन्य युरोपेली देशमा कोही विदेशीले प्रवेश पाउन कम्तीमा ५ दिन क्वारेन्टाइनमा बस्नैपर्ने नियम छ । महासंघले गत साता मात्रै बेलायती सरकारसँग २४ घण्टाको क्वारेन्टाइन नियम बनाउन अनुरोधका लागि छलफल गर्ने बताएको थियो ।

Facebook Comments Box