रोचक प्रसङ्गः किन हटायो फिफाले अन्तर्राष्ट्रिय फुटबलबाट ‘भाले गोल’को नियम?

गाउँटोलमा फुटबल खेल्दा एउटा अनौठो नियम हुन्थ्यो– भाले गोल। खेलको कुनै अवधिसम्म जुनसुकै टम जतिसुकै गोलले अघिपछि किन नहोस्, अन्तिमको ‘भाले गोल’ जसले गर्‍यो खेल उसैले जितेको मानिन्थ्यो। वास्तवमा यो हाम्रो गाउँटोलमा मात्र चलनमा रहेको नियम होइन। फिफाले खेलाउने विश्वकप र युरोकपजस्ता ठूल्ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि कुनैबेला ‘भाले गोल’को नियम थियो।

नेपालमा हामीले ‘भाले गोल’ भनेपनि अन्तर्राष्ट्रिय फुटबलमा भने यसलाई ‘गोल्डेन गोल’को नाम दिइएको थियो। फुटबल बाहेक बेसबल, फिल्ड हकी, आइस हकी, ब्यान्डी, एसोसिएसन फुटबल, फ्लोरबल र कोर्फबलमा पनि ‘गोल्डेन गोल’को नियम छ। फिल्ड हकी र रोलर हकीमा त अझैसम्म यो नियम लागू छ भने रग्बी लिगमा यही अवधारणमा आधारित ‘गोल्डेन पोइन्ट’को नियम छ।

तर, अन्तर्राष्ट्रिय प्रतियोगिता र हाम्रो गाउँटोलको ‘भाले गोल’को नियममा भने थोरै फरक थियो। नकआउट खेलको निर्धारित ९० मिनेटको खेल बराबरीमा सकियो भने थपिएको एक्स्ट्रा टाइममा ‘गोल्डेन गोल’ लागू हुन्थ्यो। एक्स्ट्रा टाइममा जुन टिमले पहिलो गोल हान्यो त्यसैले खेल जित्थ्यो। गोल लागेपछि एक्स्ट्रा टाइमको बाँकी समय खेलाइँदैन थियो, जहाँ गोल भयो खेल त्यहीँ सकिन्थ्यो।

केहि समयअघिदेखि चल्तिमा भएपनि फिफाले भने ९० को दशकको सुरुतिर मात्र आधिकारिक रुपमा यो नियम लागू गरेको थियो। ओलम्पिक र कन्फिडेरेसन कपमा ‘भाले गोल’को नियममा खेलाउनु अघि फिफाले १९९३ बाट उमेर समूहका खेलमा यो नियम लागू गरेको थियो।

फिफाले ‘भाले गोल’को नियम लागू गरेपछि यसको पक्ष र विपक्षमा सधैं बहस हुन्थ्यो। जर्मनीले १९९६ को युरोकप उपाधि भाले गोलकै आधारमा जितेका थियो। फाइनलमा ओलिभर बिएरअफले एक्स्ट्रा टाइममा ‘भाले गोल’ गरेपछि चेक रिपब्लिकलाई पराजित गर्दै पश्चिम जर्मनी युरोपको च्याम्पियन बनेको थियो।

१९९८ मा फ्रान्समा भएको विश्वकप ‘भाले गोल’को नियम प्रयोग भएको पहिलो विश्वकप थियो। विश्वकपको अन्तिम १६ को भिडन्तमा आयोजक फ्रान्सले पाराग्वेलाई ‘भाले गोल’मै पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो। लरेन्ट ब्लाङ्कले भाले गोल गर्दै फ्रान्सलाई क्वाटरफाइनल पुर्‍याएका थिए। अन्त्यमा फ्रान्स सो विश्वकप नै जित्न पनि सफल भयो।

यस्तै युरोकप २००० को विजेता पनि भाले गोलबाटै चुनिएको थियो। यहाँ पनि फ्रान्सले नै भालेकपको फाइदा उठाउन सफल भयो। इटालिविरुद्धको फाइनलमा डेभिड ट्रेजेगुएटले भाले गोल गर्दै फ्रान्सलाई उपाधि जिताएका थिए।

जापान र कोरियामा भएको २००२ को विश्वकपमा त ३ वटा भाले गोल भएका थिए। अन्तिम १६ का खेलमा सेनेगलले स्विडेनलाई र दक्षिण कोरियाले इटालिलाई भाले गोलमै पराजित गरेका थिए। टर्कीविरुद्धको क्वाटरफाइनलमा भने सेनेगल आफैं भाले गोलको शिकार भयो।

एक्स्ट्रा टाइममा पनि आक्रामक फुटबल खेल्नेछन् भन्ने अपेक्षासहित फिफाले यो नियम ल्याएको थियो। तर, यसको असर ठिक उल्टो भयो। आक्रामक खेल्नुको सट्टा सबै टिम एक्स्ट्रा टाइममा डिफेन्सिभ खेल्न थालेका थिए। सबैको लक्ष्य एक्स्ट्रा टाइम जसोतसो कटाएर टाइब्रेकरमा जाने हुनथाल्यो। भाले गोलका कारण विश्वकप र युरोकपका नकआउट खेलपनि रोमाञ्चक हुन छाडेका थिए।

‘गोल्डेन गोल’ले फुटबलको सुन्दरता नै बिगारेपछि फिफाले २००३ मा ‘सिल्भर गोल’को नयाँ अवाधारणा ल्यायो। ‘सिल्भर गोल’मा भने गोल भएपनि एक्स्ट्रा टाइमको पहिलो हाफ पुरै खेलिन्थ्यो। एक्स्ट्रा टाइमको पहिलो हाफ सकिँदा जुन टिमले अग्रता लिएको छ, त्यसैले जित हात पाथ्र्यो। यो नियमको ‘गोल्डेन गोल’भन्दा बढी आलोचना भयो।

फुटबलको मर्ममा नकारात्मक प्रभाव पारेको र समग्र खेलकै सुन्दरतामा खराब गरेको भन्दै फिफाका दुवै नियमको चौतर्फी आलोचना भयो। फिफाले पनि आक्रामक हुनुको सट्टा खेलाडीहरु डिफेन्सिभ खेल्दै सकेसम्म एक्स्ट्रा टाइम कटाउने मात्र मेसो गरेको महसुस गरिसकेको थियो।

त्यसपछि २००४ को युरोकप लगत्तै फिफाले ‘गोल्डेन गोल’ र ‘सिल्भर गोल’को नियम खारेज गर्‍यो। अन्तर्राष्ट्रिय प्रतियोगिता तथा फिफाका सदस्य राष्ट्रबीचको मैत्रीपूर्ण खेलमा यसको प्रयोग निषेध गरियो।

फिफाले नियमन गर्ने अन्तर्राष्ट्रिय खेलहरुमा निषेध गरेपनि गाउँटोलमा हुने खेलबाट भने यसलाई हटाउन सम्भव थिएन। विस्तारै स्थानीय स्तरमा पनि यसको प्रयोग पातलिँदै छ। तर, अझैपनि धेरैजसो ग्रामिण भेगमा भने खेल सकिने बेला भएपछि ‘अब लास्ट भाले गोल है, जसले हान्यो उसले जित्यो’ भन्दै आपसमा फुटबल खेल्ने चलन विद्यमान नै छ।

Facebook Comments Box