विश्वकप छनोटमा जर्मनी, इटाली र इंग्ल्यान्ड विजयी

विश्वकपको युरोपिनय छनोटमा जर्मनी, इटाली र इंग्ल्यान्डले लगातार जित निकालेका छन् । आइतबार राति भएका खेलमा जर्मनीले रोमानियालाई १–०ले, इटालीले बुल्गेरियालाई २–०ले र इंग्ल्यान्डले अल्बानियालाई २–०ले हराए ।

समूह ‘जे’ मा रहेको जर्मनीले आफ्नो दुई खेलमा लगातार जित निकाल्ने क्रममा रोमानियालाई उसैको मैदानमा १–० ले पराजित गर्न सफल भयो। जर्मनीका सर्ज जिनाब्रीले खेलको १६ औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। यो जितसँगै जर्मनीले दुई खेलबाट ६ अंक बनाएको छ।

यसै समूहमा भएको अर्को खेलमा अर्मेनियाले आइसल्यान्डलाई २–०ले हराउँदा नर्थ मासेडोनियाले लेच्टेस्टाइनलाई ५–० गोलले पराजित गरेको छ।

समूह ‘सी’ को खेलमा इटालीले बुल्गेरियामाथि २–०को जित निकाल्यो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटालीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। यसै समूहमा भएको अर्को खेलमा स्वीट्जरल्यान्डले लिथुनियालाई १–०ले हरायो।

समूह ‘आइ’ को खेलमा भने इंग्ल्यान्डले अल्बानियालाई २–०ले हरायो । विश्वकप छनोटमा इंग्ल्यान्डलाई लगतार दोस्रो जित दिलाउने क्रममा ह्यारी केनले ३८ र मेसन माउन्टले ६३ औं मिनेटमा गोल गरे। यही समूहमा हंगेरीले सान मारिनोलाई ३–० र पोल्यान्डले एन्डोरालाई ३–० ले हराए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.