रोनाल्डोले गोल गरेको खेलमा पोर्चुगल विजयी

सन् २०२२ को फिफा विश्वकपको युरोपियन छनोटमा पोर्चुगलले दोस्रो जित निकालेको छ । क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ले हरायो ।

विश्वकप छनोटका यसअघिका दुई खेलमा पोर्चुगलले १ जित र १ बराबरी खेलेको थियो । अजरबैजानलाई १–०ले हराएको पोर्चुगल सर्बियासँग २–२ गोलको बराबरीमा रोकिएको थियो।

विश्वकप छनोटमा पोर्चुगललाई दोस्रो जित दिलाउने क्रममा रोनाल्डो, डिएगो जोटा र जोआ पाउलिन्होले गोल गरेका थिए भने लक्जेम्बर्गका गेर्सोन रोड्रिगेजले गोल गरेका थिए।

खेलको ३० औं मिनेटमा गेर्सोन रोड्रिगेजको गोलमा लक्जेम्बर्गले सरुआती अग्रता लियो। तर, ४५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमै सकियो ।

दोस्रो हाफमा पोर्चुगलले थप दुई थोल गर्दै ३–१को जित निकाल्यो । ५१औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेलमा पोर्चुगललाई २–१ ले अघि रह्यो । रोनाल्डोको पोर्चुगलका लागि १०३ औं गोल हो । ८०औं मिनेटमा पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३–१को जित दिलाए । ८७ औं मिनेटमा म्याक्सिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लक्जेम्बर्ग १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै समूह ‘ए’ मा ३ खेलमा ७ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ । लक्जेम्बर्ग २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.