विश्वकप छनोटमा ब्राजिलको जितको यात्रा कायमै, नवौं खेलमा भेनेजुएलालाई ३–१ले हरायो

सन् २०२२को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। विश्वकपको दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले लगातार नवौं जित निकालेको छ।

छनोटमा लगातार नवौं जित निकाल्ने क्रममा ब्राजिलले शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ले हरायो। ब्राजिललाई जिताउन मार्किन्होस, गाब्रियल बार्बोसा र एन्थोनीले गोल गरे भने भेनेजुएलाका एरिक रामिरेजले गोल गरे।

खेलको ११ औं मिनेटमा एरिक रामिरेजको गोलबाट ब्राजिल खेलमा पछि परेको थियो । एक गोलले पछि परेको ब्राजिलले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ७१औं मिनेटमा सब्सिच्युट फरवार्ड राफिन्हाको पासमा डिफेन्डर मार्किन्योसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८५ औं मिनेटमा गाव्रियल बर्बोसाले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए । भिनिसियस जुनियरको प्रहारलाई भेनेजुएलाका गोलरक्षक जोएल ग्राटेरोलले नियन्त्रणमा लिन नसकेको बलमा नजिकै रहेका गाव्रियल बर्बोसालाई ओस्कार गोन्जालेजले फल गर्न पुगेपछि ब्राजिलले पेनाल्टी पाएको थियो। जसमा बर्बोसा चुकेनन् ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अर्का वैकल्पिक खेलाडी एन्थोनीले गोल गर्दै ब्राजिलको जित पक्का गरे । एन्थोनीले राफिन्हाकै पासमा गोल गर्न सफल भए ।

जितपछि अपराजित रहेको ब्राजिल ९ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

Facebook Comments Box