बार्सिलोनाको प्रशिक्षक बनेपछि जाभीले भने- अनुभवलाई क्लबको हितमा प्रयोग गर्छु

क्याटलान क्लब बार्सिलोनाले आफ्नो मुख्य प्रशिक्षकमा आफ्नै पूर्वखेलाडी जाभी हर्नानडेजलाई औपचारिक रुपमा भित्र्याएको छ। बार्सिलोनाका लिजेण्ड खेलाडी जाभीलाई सोमबार क्लबको घरेलु मैदान क्याम्प नाउमा दर्शकका अगाडी प्रस्तुत गरिएको हो।

जाभी कतारी क्लब अल साद छाड्दै बार्सिलोना फर्किएका हुन्। जारी सिजन खराब प्रदर्शन गरिरहेको बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गर्दै जाभीलाई मुख्य प्रशिक्षक बनाएको हो।

बार्सिलोनामा समर्थकहरुले गरेको स्वागतबाट आफू भावुक बनेको बताउँदै जाभीले घर फर्किन पाउँदा खुशी लागेको बताए। ‘बार्सिलोना विश्वकै उत्कृष्ट क्लब हो। म घरमा फर्किएको छु। घरमा फर्किन पाउँदा निकै खुशी छु,’ उनले भने।

उनले मंगलबारबाटै प्रशिक्षण सुरु गर्ने बताएका छन्। ‘भोलिदेखि हामीले काम सुरु गर्ने छौं। हामीले बार्सिलोनाको लक्ष्य अनुसार काम गर्ने छौं,’ उनले भने,‘बार्सिलोनाले मलाई धेरै कुरा सिकाएको छ। मेरो अनुभवलाई क्लबको हितमा प्रयोग गर्ने छु।’

जाभीले लिओनल मेसीले पनि आफूलाई सन्देश पठाएको जानकारी दिँदै अहिले क्लबमा नभएका पूर्वखेलाडीको कुरा गर्नुको कुनै अर्थ नभएको बताए। जाभीलाई प्रशिक्षकको रुपमा प्रस्तुत गर्ने समारोहमा बार्सिलोनाका पूर्वप्रशिक्षक एवं म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला पनि उपस्थित रहेका थिए।

जाभीले बार्सिलोनामा २५ ट्रफी जितेका छन्। १९९७ देखि २०१५ सम्म बार्सिलोनामा खेलेका जाभीले ८ ला लिगा र च्याम्पियन्स लिगको उपाधिसमेत जितेका थिए। जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेल्दै ८५ गोल र १८५ गोल असिस्ट गरेका छन्।

Facebook Comments Box