
युभेन्ट्स र लाजियाेमा काम गरेका पोर्चुगिज प्रशिक्षकले नेपाली युवालाई फुबटल सिकाउने
पोर्चुगिज प्रशिक्षक फावियानो फ्लोराले नेपाली फुटबल सिकाउने भएका छन्। युईएफएको प्रो लाइन्स प्राप्त फ्लोराले ‘युथ फुबटल क्याम्प’ मार्फत नेपाली युवालाई फुबटलको स्किल सिकाउन लागेका हुन्।
फ्लाेरा अहिले साउदी अरेबियाको शीर्ष डिभिजन खेल्ने अल साहेलका प्रशिक्षक छन् । उनीसँग अफ्रिकी आइल्याण्ड मगादस्कर र टिमोर लेस्टेको राष्ट्रिय टिम प्रशिक्षण गरेको अनुभव छ। उनले इटालियन क्लब युभेन्ट्स र लाजियाेकाे युथ टिम पनि हेरिसकेका छन्।
पेरिविंकल सर्भिस प्रालिले आयोजना गर्ने उक्त क्याम पुस २४ गतेदेखि माघ ८ गतेसम्म ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सञ्चालन हुनेछ।
सम्भावित युवा फुटबलरको पहिचान, उनीहरुलाई मार्गदर्शन र फुटबलमा लाग्न चाहनेलाई सैद्धान्तिक र रणनीतिक ज्ञान प्रदान गर्न युथ फुटबल क्याम्प आयोजना गर्न लागिएको पेरिवंकलले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दियो।
१६ वर्षभन्दा मूनि उमेरसमूहका अधिकतम १०० जना बालबालिकालाई व्यवसायिक प्रशिक्षकमार्फत फुटबलको आधारभूत ज्ञान दिने लक्ष्य आयोजक छ । त्यसका लागि प्रति खेलाडी ३५ हजार रुपैयाँ शुल्क लाग्नेछ।
प्रशिक्षण शुल्क, मैदान, तालिम अवधिभर खाना, शिविरका लागि आवश्यक सबै फुटबल किटसहित प्रशिक्षण अवधिभर आवश्यक सबै खर्चहरुका लागि सो शुल्क लिइएको आयोजकले प्रष्ट पारेको छ।