बेल्जियमविरुद्ध इटालीका गोलकिपरले लगाएका थिए २८८ वटा ‘काँडा’ भएको पञ्जा

युरोकप २०२० को क्वार्टरफाइनलमा विश्व नम्बर १ टिम बेल्जियमलाई २–१ गोलअन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको छ। बेल्जियमविरुद्ध इटालीका फरवार्ड इन्सिग्ने र गोलकिपर जिआनलुइजी डोनारुमाले उत्कृष्ट प्रदर्शन गरेका थिए।

सो खेलमा गोलकिपर डोनारुमाले बेल्जियमका कडाकडा प्रहारहरु विफल बनाउँदै इटालीको जित निश्चित गरेका थिए। २२ वर्षकै उमेरमा विश्वका उत्कृष्ट गोलकिपरमध्ये पर्न सफल डोनारुमाले बेल्जियमका खेलाडीहरुका हरेक सट विफल पार्दा उनले लगाएको विशेष पञ्जाको चर्चा चुलिएको छ।

उनले बेल्जियमविरुद्धको खेलमा एडिडासको ‘प्रिडेटर प्रो’ पञ्जा लगाएर खेलेका थिए। उत्कृष्ट ग्रिप हुनुका साथै यो पञ्जामा २८८ वटा स्पाइक पनि रहेका छन्, जसले जतिसुकै पावरमा आएको बललाई पनि पन्च गरेर डिफ्लेक्ट गर्दै पोस्टबाट टाढा पुर्‍याउन मद्दत गर्छ।

प्रिडेटर पञ्जाको हत्केलाको भागमा भएको ग्रिपले बल समात्न पनि सजिलो हुन्छ। पञ्च गर्दा बल चिप्लिएर गोल हुने समस्यालाई न्यूनीकरण गर्न यसको पछाडी विभिन्न आकारका काँडाजस्ता स्पाइक राखिएको हो।

प्रिडेटर एडिडासको निकै चर्चित प्रोडक्ट रेन्ज हो। प्रिडेटरको फुटबल बुट सबैभन्दा चर्चित छन्। प्रिमियर लिगका लेजेन्ड खेलाडी स्टेभेन जेरार्ड र डेभिड बेकह्यामले प्रिडेटर बुट नै लगाएर खेल्ने गरेका थिए।

तर, अहिले प्रिडेटरको पञ्जा पनि आएपछि डोनारुमालगायत शीर्ष गोलकिपरहरुले यसको पनि प्रयोग गर्न थालेका छन्। म्यान्चेस्टर युनाइटेडका गोलकिपर डेभिड डेगिया र इंग्ल्यान्डका युवा गोलकिपर आरोन राम्स्डेलले पनि पछिल्लो समय प्रिडेटरकै पञ्जा लगाएर खेल्न थालेका छन्।

एडिडासको आधिकारिक वेबसाइटमा ‘प्रिडेटर प्रो’को मूल्य १०० पाउन्ड स्टर्लिङ अर्थात् १६ हजार ५ सय नेपाली रुपैयाँ राखिएको छ।

गत सिजनको अन्त्यसँगै एसी मिलान छाडेका डोनारुमा हाल क्लबविहिन छन्। नयाँ सिजन सुरु भएसँगै उनी पिएसजी जाने हल्ला चलिरहेको छ।

इटालीका लेजेन्डरी गोलकिपर जिआनलुइजी बुफोनलाई प्रतिस्थापन गर्दै राष्ट्रियको टिमको जिम्मेवारी सम्हालेका डोनारुमाले देशका लागि उल्लेखनिय योगदान गरेका छन्।

इटाली पछिल्ला ३१ खेलयता अपराजित छ। डोनारुमाले पनि पछिल्ला २८ वटा खेलमा एक गोलभन्दा बढी खाएका छैनन्। टिम र गोलकिपरसहित अन्य थुप्रै खेलाडी उत्कृष्ट फर्ममा रहेकाले इटालीले यसपटकको युरोकप जित्ने धेरैको अनुमान छ।

इटालीले बुधबार राती १२ः४५ बजे फाइनल प्रवेशका लागि स्पेनको सामना गर्दैछ।

Facebook Comments Box