
दक्षिण कोरियामाथि ब्राजिलको सानदार जित, क्वार्टरफाइनलमा क्रोएसियासँग खेल्ने
सानदार जित निकाल्दै ब्राजिल कतार विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति स्टेडियम ९७४मा भएको खेलमा ब्राजिलले दक्षिण कोरियामाथि ४–१को सानदार जित निकाल्यो।
ब्राजिललेका लागि नेमार, भिनिसियस जुनियर, रिचार्लिसन र लुकास पक्वेटाले गोल गरे भने कोरियाका पाइक सेउङ होले गोल गरे। ब्राजिलले चारै गोल पहिलो हाफमा गरेको छ।
सातौं मिनेटमा भिनिसियस जुनियरको गोलमा ब्रजिलले अग्रता लियो । रियल मड्रिडका स्टार भिनिसियसको यो ब्राजिलका लागि दोस्रो र विश्वकपको पहिलो गोल हो।
१३औं मिनेटमा नेमारले ब्राजिलको अग्रता दोब्बर बनाए । रिचार्लिसनलाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा नेमारले गोल गरेका थिए। यो नेमारको ब्राजिलका लागि ७६औं गोल हो। उनी महान फुटबल पेलेको ब्राजिलका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भेट्टाउन १ गोलले मात्र पछि छन्।
२९औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–०को अवस्थामा ल्याए। उनले थिएगो सिल्भाको पासमा गोल गरेका थिए । यस्तै, ३६औं मिनेटमा लुकास पक्वेटाले भिनिसियसको पासमा ब्राजिलका लागि चौथो गोल गरे।
ब्राजिलले विश्वपमा पहिलो हाफमा ४ गोल गरेको यो १९५४पछि पहिलो पटक हो । त्यतिबेला ब्राजिलले मेक्सिकोविरुद्ध पहिलो हाफमा ४ गोल गरेको थियो।
७६औं मिनेटमा होले लङ रेन्जबाट उत्कृष्ट गोल गरे । त्यसपछि गोल नहुँदा ब्राजिल ४–१ले विजयी भयो ।
अब ब्राजिलले क्वार्टरफाइलनमा रुस विश्वकपको फइनलिस्ट क्रोएसियाको सामाना गर्ने छ। क्रोएसिया जापानलाई पेनाल्टी सुटआउटमा ३–१ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो।