
रास्फोर्ड प्रेरित इंग्ल्यान्ड नकआउटमा
अन्तिम खेलमा वेल्समाथि जित निकाल्दै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा मार्कस रास्फोर्ड चम्किएपछि इंग्ल्यान्डले वेल्समाथि ३–०को जित निकाल्यो।
यो जितसँगै इंग्ल्यान्ड समूहको बीको विजेता बन्यो । वेल्स भने समूहको पुछारमा रह्यो । इंग्ल्यान्डले पहिलो खेलमा इरानमाथि ६–२को फाराकिलो जित निकाल्दा दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो।
पहिलो हाफ गोलरहित बरारबीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो। इंग्ल्यान्डले दोस्रो हाफमा २ मिनेटमा २ गोल गरेको थियो । उसलाई रास्फोर्डले ५०औं मिनेटमा अग्रता दिलाएका थिए भने ५१औं मिनेटमा फिल फोडनेले अग्रता दोब्बर बनाएका थिए।
त्यसपछि ६८औं मिनेटमा रास्फोर्डले नै गोल गरेपछि इंग्ल्यान्डले वेल्समाथि ३–०को जित निकाल्यो।
अब इंग्ल्यान्डले अन्तिम १६मा सेनेगलको सामाना गर्ने छ। सेनेगल समूह एको उपविजेताका रुपमा नकआउट पुगेको हो।