
नेपालको नागरिक समाजले लेख्यो फिफालाई पत्र, भन्यो– आप्रवासी कामदारलाई क्षतिपूर्ति देउ
कतारमा जारी विश्वकप फुटबलको सन्दर्भलाई लिएर नेपालको नागरिक समाज समूहले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)लाई पत्र लेखेको छ। नागरिक समाजले फिफालाई पत्र लेख्दै आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन माग गरेको हो।
विश्वकपको भौतिक संरचना निर्माणका क्रममा मृत्यु भएका र दुर्व्यवहार भोगेका आप्रवासी कामदारले गरेको क्षतिपूर्ति मागलाई कतारले अस्वीकार गरेपछि नेपालको नागरिक समाज समूहले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई सार्वजनिक पत्र लेखेको हो। पत्रमा श्रमिकहरूको पीडालाई ‘बेवास्ता गर्ने कार्य बन्द गर्न’ आव्हान गरिएको छ।
कतारले सन् २०१८ मा स्थापना गरेको क्षतिपूर्ति कोषमा नेपाल फर्किएका आप्रवासी श्रमिकहरू आफूले भुक्तानी नपाएको तलब फिर्ता पाउने सवालमा कसरी पहुँच प्राप्त गर्न असमर्थ छन् भन्ने विषयमा पनि स्पष्ट गरेको छ। यस्तै आफ्ना प्रियजनको मृत्युको कारणको अनुसन्धान नगरिँदा शोकसन्तप्त परिवारले क्षतिपूर्ति प्राप्त गर्न नसकेको विषय पनि पत्रमा उल्लेख गरिएको छ।
‘श्रमिकहरूको अधिकारको सम्मान गर्न र दुव्र्यवहारमा परेका श्रमिक र आफन्त गुमाएका परिवारहरूलाई क्षतिपूर्ति दिन सहमत भएको फिफालाई ती वाचाहरू पूरा गर्न जियानी इन्फान्टिनोलाई आह्वान गर्न हामी एकसाथ आएका छौं,’ प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोमप्रसाद लामिछानेले भने ।
‘कतारमा धेरै श्रमिकहरूले सामना गर्नुपरेको दुर्व्यवहार वास्तविक मानवीय मूल्य हामीलाई थाहा छ। परिवारहरू गरिबीको चपेटामा परेका छन्, बालबालिका विद्यालयबाट निकालिएका छन् र श्रमिकहरू ऋण तिर्न फेरि प्रवास जान बाध्य भएका छन्। फिफाले यस वास्तविकताको अनदेखा गर्न मिल्दैन र यसलाई सच्याउन आवश्यक कार्य गर्नुपर्छ,’ पत्रमा भनिएकाे छ।
सन् २०२२ फिफा विश्वकप आयोजना गर्न आवश्यक पर्ने विशाल पूर्वाधार परियोजना निर्माणलगायत कतारका विभिन्न क्षेत्रहरूमा नेपालका करिब ४ लाख श्रमिक कार्यरत रहेको पत्रमा उल्लेख छ। नागरिक समाज समूहले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको भए पनि खाडी र अन्यत्र काम गर्न जानेहरू नियमित रूपमा श्रम शोषणको सिकार भएको जनाएको छ।
नेपाली श्रमिकहरूले रोजगारी प्राप्त गर्न सामान्यतया १ हजार अमेरिकी डलरभन्दा बढी अवैध भर्ना शुल्क तिर्ने गरेको तथा मानवअधिकार संघसंस्थाहहरूले विश्वकपसँग जोडिएका लगायत कार्यस्थलहरूमा जबर्जस्ती श्रम र चुक्ता नगरिएको ज्यालाका विषयमा पनि प्रश्न उठाइएको छ।
सन् २०२२ को मे महिनादेखि मानवअधिकार संघसंस्था, ट्रेड युनियन र फुटबलप्रेमीहरूको समूहको एउटा विश्वव्यापी सञ्जालले श्रमिकहरूलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुव्र्यवहारहरू रोक्न फिफा र कतारलाई एउटा उपचारात्मक कार्यक्रम स्थापना गर्न आह्वान गर्दै आएको छ। उक्त आह्वानलाई १२ वटा फुटबल संघ र चारवटा फिफा प्रायोजकहरूले समर्थन गरेकोसमेत समूहले जनाएको छ।