
पोल्यान्ड डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग भिँड्दै, रोक्न सक्ला एम्बाप्पेलाई ?
डिफेन्डिङ च्याम्पियन फ्रान्सले आज क्वार्टरफाइनल प्रवेशका लागि पोल्यान्डको सामाना गर्दैछ। यो खेल राति ८ः४५ बजे अल थुमाम स्टेडियममा हुने छ।
खेलाडीको चोटले सताएको फ्रान्स समूह डीको विजेताका रुपमा अन्तिम १६ पुगेको हो भने पोल्यान्ड समूहको सीको उपविजेता हो।
उपाधि घरमै राख्ने लक्ष्यसहित कतार पुगेको फ्रेन्च टिमलाई पोल्यान्डले रोक्ला ? प्रयोगिताकै प्रर्दशनका आधारमा भन्ने हो भने फ्रान्सको जित नश्चित जस्तै छ । तर, ९० मिनेटमा यी टिमले कस्तो प्रदर्शन गर्छन्, त्यसले नतिजाको निर्धारण गर्छ ।
उपाधि रक्षाको अभियानमा यात्रामा फ्रान्सको मुख्य हतियार किलियन एम्बाप्पे नै हुन्। समूह चरणमा तीन गोल गर्दै एम्बाप्पेले आफू लयमै रहेको प्रमाणित गरिसकेका छन्।

यता, फ्रान्सलाई रोक्दै अगाडि बढ्ने हो भने पोल्यान्डले एम्बाप्पेलाई रोक्नु पर्ने हुन्छ। तर, उनलाई रोक्नु पोल्यान्डको डिफेन्डसका लागि त्यति सहज काम भने होइन । त्यसैले सन् १९८६ यता पहिलो पटक नकआउट चरणमा पुगेको पोल्यान्ड त्यो भन्दा अगाडि बढ्नु त्यति सहज छैन।
फ्रान्सविरुद्ध पोल्यान्डका मुख्य हतियार रोबर्ट लेवान्डोस्की हुन्। उनी जतिसुकै बेला खेललाई परिवर्तन गर्न सक्ने खेलाडी हुन्। यस्तै, वेस्याक सेजेनी, जिलेस्कीलगायतको प्रदर्शन पनि उसका लागि महत्वपूर्ण छ।
दुई टोलीबीचको हेड टु हेडमा फ्रान्स नै बलियो देखिएको छ । पछिल्लो १६ भेटमा फ्रान्सले पोल्यान्डमाथि आठ जित र तीन हारको सामना गरेको छ । पोल्यान्ड र फ्रान्सबीच तीन खेल बराबर भएको छ ।