पेले र म्याराडोनालाई पछ्याउँदै मेसी

Read Time:3 Minute

३५ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेसी अहिले करिअरको अन्त्यतिर छन्, र उनी आफ्नो करिअरलाई सुखद अन्त्य गर्न लागि परेका छन्।

लुसेल रंगशालामा राति ८:४५ बजे हुने फ्रान्सविरुद्धको फाइनल मेसीको विश्वकपको अन्तिम खेल हुनेछ । उनले यसअघि नै यो घोषणा गरिसकेका छन्। र, उनी त्यहाँ उपाधि जित्दै आफूलाई महान खेलाडीको सूचीमा उभ्याउन चाहन्छन्।

विश्व फुटबलले अहिलेसम्म जति महान् खेलाडी पायो, त्यसमा पेले र म्याराडोनाको नाम आउँछ । विश्वकप भनेपछि अगाडि आउने दुई ठूला नाम पेले र म्याराडोना नै हुन् ।

वर्तमानका सर्वोत्कृष्ट खेलाडी मेसीसामु यी दुई नामसँगै आफू पनि जोडिने अवसर छ।

अर्जेन्टिनाले मेसीमा निर्भर भएर उनैलाई केन्द्रमा राखेर लामो समयदेखि खेलिरहेको छ। बार्सिलोनाले त एक दशकभन्दा बढी समय यसरी नै खेलेको थियो । मेसीले बार्सिलोनाका लागि सबैथोक जिते । र, सातपल्ट बेलन डे’ओर जिते ।

तर, मेसीले अर्जेन्टिनामा भने क्लब फुटबलमा जस्तो सफलता चाख्न पाएका छैनन्। गत वर्षको कोपा अमेरिका नै मेसीले अर्जेन्टिनाका लागि जितेको सबैभन्दा ठूलो उपाधि हो ।

अब मेससामू विश्वकप जित्ने अन्तिम अवसर छ । प्रतियोगितामा अर्जेन्टिनाको सुरुआत पनि राम्रो रहेन, तर मेसीले आफ्नो फर्मलाई भने कायमै राखे। पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग पराजित भयो। त्यसपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा देखियो। तर, त्यसपछि मेसी र उनको टिम त्यसपछि रोकिएन, सबै खेल जित्दै उपाधि नजिक पुग्यो।

सम्भवतः उनी आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट विश्वकप खेलिरहेका छन्, त्यो पनि ३५ वर्षको उमेरमा । क्रोएसियाविरुद्धको सेमिफाइनलमा त मेसी खुबै छाए ।

अर्जेन्टिनाले हात पारेको तीन गोलको जितमा पहिलो गोल उनकै नाममा रह्यो । खेलको तेस्रो गोल त उनको नाममा थिएन, तर यो गोलको सबै श्रेय उनैले खाए । जुलियन एल्भारोको त्यस गोलमा मेसीले एकाएक जसरी जादुयी तरिकाले अवसर सिर्जना गरे, त्यो अद्वितीय थियो ।

यसपल्टको विश्वकपमा अर्जेन्टिनाले कुल १२ गोल गरिसकेको छ । त्यसमा पाँच गोल त मेसीकै नाममा छ । उनले विश्वकप इतिहासमै ११ गोल गरिसके, जुन अर्जेन्टिनाका लागि कीर्तिमान पनि हो ।

सन् २०१४ मा पनि मेसी सामू उपाधि जित्ने अवसर थियो । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका मेसी फाइनलमा भने चल्न सकेनन्, जर्मनीसँग १–०ले पराजित हुँदै उपाधिबाट बञ्चित भए । ब्राजिलमा भएको त्यस विश्वकप अर्जेन्टिनाले जितेको भए मेसीबारे अहिले चलिरहेका बहस त्यहीबेलै सकिइसकेको हुन्थ्यो ।

मेसीलाई फेरि एकपल्ट मौका आएको छ, विश्वकप जित्ने । जिते पेले र म्याराडोनापछि आउने नाम मेसी हुनेछ ।

Happy
Happy
73 %
Sad
Sad
0 %
Excited
Excited
20 %
Sleepy
Sleepy
7 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post को बन्ला विश्व च्याम्पियन मेसी या एम्बाप्पे ?
Next post विश्वकपका फाइनलिस्ट : सर्वाधिक फाइनल खेल्ने जर्मनी, अभागी नेदरल्यान्ड्स
Close