एनएसएलमा आजबाट प्लेअफका खेल, फाइनल प्रवेशका लागि पोखरा र धनगढी भीड्दै

25 Dec, 2023

नेपाल सुपर लिगमा आजबाट प्लेअफका खेल सुरु हुनेछ। आज क्वालिफायर १को प्रतिस्पर्धा हुनेछ।

जसमा लिगको शीर्ष दुई टिम पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ। खेल साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

यो खेल सेमिफाइनल जस्तै हुनेछ। जित्ने टिम सीधै फाइनल पुग्नेछ र उपाधिको एक कदम नजिक आफूलाई उभ्याउनेछ। तर, पराजित हुने टिम पनि बाहिरिने छैन। उसले पनि अर्को एक अवसर पाउनेछ।

लिगमा दुवै टिमले समान १ खेल हारेका थिए। लिग चरणमा यी दुईबीचको खेल १–१को बराबरीमा सकिएको थियो।

लिग चरणमा जस्तो नतिजा आएपनि खासै अर्थ नहुने भएकोले पनि पोखराले धनगढीविरुद्ध अन्तिम खेलमा कप्तान दिनेश राजवंशीसहित केही मुख्य खेलाडीलाई आराम दिएको थियो। मार्की आयुष घलान र मोसेस ग्याबाह दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए र मोसेसले नै बराबरी गोल गरेका थिए।

अब क्वालिफायरमा भने दुवै टोली पहिलो रोजाइमा आफ्नो बलियो टिम उतार्ने छन्।

पोखराले पछिल्लो तीनमध्ये दुई खेल जित्दा एक खेल बराबरी गरेको थियो। उता धनगढीले पछिल्लो तीन खेलमा २ बराबरी खेल्दा १ हार बेहोरेको थियो।

लिग चरणमा पोखरा नै राम्रो लयमा देखिएको थियो भने धनगढीले राम्रो सुरुवात गरेर पनि त्यसलाई कायम राख्न सकेन। सुरुको दुई खेल जितेर ६ अंक जोडेको धनगढीले बाँकी ६ खेलमा एक जित र ४ बराबरीबाट जम्मा ७ अंक मात्र जोड्न सक्यो।

पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपाने र धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राई दुवैले यो क्वालिफायर महत्वपूर्ण र प्रतिस्पर्धात्मक खेल हुने बताएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]