काठमाडौं जिल्ला बक्सिङ संघमा तन्डुकार

निवर्तमान अध्यक्ष दिनकलाल श्रेष्ठ पक्षको विरोधका बीच काठमाडौं जिल्ला बक्सिङ संघको निर्वाचनबाट नवीन तन्डुकार अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनले उनको नेतृत्वमा पाँच सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको हो ।

यो निर्वाचनसँगै निवर्तमान अध्यक्ष बनेका दिनकलालले शुक्रबार नै विज्ञप्तिमार्फत अधिवेशन एकलौटी भएको आरोप लगाएका छन् । उनले केन्द्रले निर्वाचनका लागि आफूलाई नै संयोजक तोकेको तर आफूलगायत अधिकांश सदस्यलाई जानकारीसमेत नदिई अधिवेशन गराएको आरोप लगाएका छन् ।

‘केन्द्रले जिल्लाको निर्वाचन गराउन मलाई नै संयोजक तोकेको छ । तर, मलाई नै जानकारी नगराई निर्वाचन सम्पन्न गरिएको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यो निर्वाचन एकलौटी गरिएको छ ।’ उनले निर्वाचन विधानविपरीत भएको समेत दाबी गरेका छन् ।

‘जिल्ला खेलकुद विकास समितिको रोहबरमा मात्रै जिल्ला संघको निर्वाचन हुने प्रावधान छ । तर, जिल्ला खेलकुद विकास समितिले निर्वाचनका लागि अनुमति नै दिएको छैन । राष्ट्रिय खेलकुद परिषद्ले समेत निर्वाचन रोक्न पत्राचार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो निर्वाचन विधानविपरीत छ, अवैधानिक छ ।’

तर, उनको दाबीविपरीत निर्वाचनमा काठमाडौं जिल्ला खेलकुद विकास समितिको प्रतिनिधिका रूपमा सानुराज केसी उपस्थित थिए । निर्वाचन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यसमेत रहेका नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले विधिसम्मत नै निर्वाचन गराइएको बताए । ‘हामीले जिल्ला निर्वाचनका लागि पत्रिकामै सूचना निकालेका थियौँ । त्यसको जानकारी पाएरै उहाँहरू राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिनसमेत पुग्नुभएको थियो,’ अध्यक्ष रामले भने, ‘त्यसबाहेक पनि हामीले बाँकी सबै प्रक्रिया पूरा गरेका छौँ । यो बक्सिङ खेलको विकास देख्न नचाहनेहरूको प्रयास मात्रै हो । निर्वाचन विधिसम्मत भएको छ ।’

जिल्ला संघको उपाध्यक्षमा दीपक महर्जन, सचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा किशोर खत्री केसी चयन भएका छन् । केशव रञ्जित सदस्यमा चुनिए । शुक्रबार नै बसेको कार्यसमितिको बैठकले थप आठ सदस्य मनोनित गरेको छ । मनोनित सदस्यहरूमा राजकृष्ण महर्जन, सुरेन्द्र महर्जन, कवुना श्रेष्ठ, राजकुमार महर्जन, सुनीता महर्जन, नवराज केसी, कृष्ण महर्जन र उमेश रिजाल रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.