अमेरिकामा नेपाली खेलाडी सञ्जीवले जिते दुई स्वर्ण

नेपाली तेक्वान्दो खेलाडी सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन् । फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेरसमूहको स्पोर्ट्स र ट्रेडिसनल पुम्सेमा स्वर्ण जितेका हुन् ।

सन्जीवले स्पोर्ट्सतर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् । सन्जीवले ६ अंक बटुल्दा क्लेभले ४.९३४ अंक जोडेका थिए ।

प्रेम दर्नालले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट पुम्सेमा भने रजत पदकमै चिक्त बुझाए । स्पोट्र्स पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते । फ्रान्कोईले ६.५१ अंक बटुल्दा प्रेमले ५.८१ अंक जोडेका थिए ।

यसैगरी च्याम्पियनसिपमा नेपालका अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोर्ट्स पुम्सेमा कांस्य र ट्रेडिसनल रजत पदक जितिन् । स्पोट्र्स पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६।९६ अंक र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अंक बटुलेका थिए । सन्दीपाले भने ५.४५ अंक जोडेपछि कांस्य पदकमा खुम्चिन बाध्य भइन् भने उनले ट्रेडिसनलतर्फ रजत पदक जितिन्।

गत सेप्टेम्बर ११ देखि भएको च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र स्लोभानियालगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments Box