
नेपाली बक्सर सुष्मालाई प्रधानमन्त्रीले दिए शुभकामना
बैंककमा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङले बुधबार उज्वेकिस्तानकी फोजिलोना फरजोभासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछिन् ।
कुनै पनि नेपाली खेलाडी यो प्रतियोगिताको फाइनल पुगेको पहिलो पटक हो । एतिहासिक फाइनल खेल्न लागेकी सुष्मालाई प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएकाछन्।
बुधबार प्रधानमन्त्रीले समाजिक सञ्जालमार्फत सुष्मालाई शुभकामना दिएका छन्। उनले खेलेका छन्, ‘एसियन बक्सिङ महासंघको आयोजनामा जारी प्रतियोगितामा नेपालको बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले म अत्यन्तै खुसी छु। यसले नेपाल र नेपालीको गौरव बढाएको छ। तामाङलाई आज हुने फाइनल खेलमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गर्दछु।’
फाइनल पुग्दै इतिहास रचिसकेकी सुष्माले स्वर्ण पदकका लागि आफूले संयमतापूवर्क खेल्ने बताएकी छिन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार शुभकामना दिन गरिएको भिडियो लाइभमा सुष्माले भनेकी थिइन्, ‘उज्वेकी प्रतिद्वन्द्वी पनि म जस्तै डिफेन्सिभ र एट्याकिङ खेल्छिन् । मैले उनको खेल नियालेकी छु । मैले अगाडि बढेर संयमतापूर्वक खेल्ने रणनीति बनाएकी छु ।’