
सिर्जनालाई इरानमा रजत, नेपाललाई फेयर प्ले अवार्ड
नेपालकी सिर्जना घिसिङले इरानको तेहरानमा आयोजित विश्व तेक्वान्दो प्रेसिडेन्ट कप एसियन रिजन पारा तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेकी छन् ।
सोमबार फाइनल स्पर्धामा इरानकी फतेमेह दोदांगेसँग ११–३३ अंकका आधारमा पराजित हुँदा सिर्जना स्वर्ण जित्न चुकेकी हुन् ।
पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत ५२ केजीमाूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी सिर्जनाले क्वार्टरफाइनलमा इरानकै सहर घानबारी कोमिशानीलाई ५–३ अंकका आधारमा पराजित गरेकी थिइन् भने सेमिफाइनलमा टर्कीकी मेर्यम बेटुल काभडारलाई ११–१० अंकका आधारमा हराएकी थिइन् ।
प्रतियोगितामा नेपालबाट सिर्जना मात्र सहभागी थिइन् । प्रतियोगिताको फेयर प्ले अवार्ड नेपालले पाएको तेहरानबाट प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिएका छन् ।
आसन्न एसियाली पारा खेलकुदमा सहभागिता सुनिश्चितताका लागि वरीयता बढाउन तेक्वान्दो संघले सृजनालाई यो प्रतियोगितामा पठाएको हो । उनीसहित पारा युथ एसियाली खेलकी स्वर्ण विजेता पलेशा गोवर्द्धन र सोही प्रतियोगितामा कांस्य जितेका विशाल गर्वुजालाई पारा एसियाली खेलकुदमा पठाउने तयारी छ । पारा युथ एसियाली खेलकुदमा सिर्जनाले पनि रजत जितेकी थिइन् ।