
युगान्डाविरुद्ध नेपाली महिला टिमको जित
घरेलु टोली नेपालले चौथो महिला टी-२० आई सिरिजमा भ्रमणकारी युगान्डालाई पराजित गरेको छ। सुरुआती तीन खेल लगातर हारको नेपालले शुक्रबार युगान्डालाई १५ रनले पराजित गरेको हो।
जितको लागि ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डा निर्धारित १८ ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटियो। युगान्डाकी जेनेत म्वाबाजीले सर्वाधिक २१ रन बनाइन्। उनले ३२ बलमा १ चौका प्रहार गरिन्। एभलिन एनीपो ११ बलमा २ चौकासहित १६ रन बनाइन्।
यता, रिता न्यांगेन्डो १६ र ओपनर केविन एविनो ११ रन आउट भइन्। नेपालको लागि डेब्यू खेल खेलेकी युवा स्पिनर हिरान्माय रोयले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन्। अस्मिना कर्माचार्य, कविता कुँवर र रुविना क्षेत्रीले १-१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले १७।५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो। वर्षका कारण आउट फिल्ड भिजेपछि खेल निर्धारित समयभन्दा आधाघण्टा ढिलो गरि सुरु भएको थियो।
१८ ओभरमा झारिएको खेलमा नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको इनिङ्स खेलिन्। उनले १३ बलमा ४ चौका प्रहार गरिन्।
यता, विन्दु रावलले ३५ बलमा १ चौकासहित १६ रन बनाइन्। सीता रानामगर ८ बलमा २ चौकासहित ११ रनमा रन आउट भइन्।
नेपालले सुरुआती ८ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको थियो। त्यसपछि मध्यक्रममा चल्न नसक्दा नेपालले बलियो योगफल बनाउन सकेन। युगान्डाकी कोन्सी कोन्सी एविकोले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन्।
५ खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ। बिहीबार युगान्डाले नेपाललाई ६ विकेटले हराएको थियो। नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो। यस्तै, दोस्रोमा नेपाल १ विकेटले पराजित भएको थियो।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी२० आई खेल खेल्न खेल्नेछ।