अन्तिम खेलमा बार्सिलोना रोकियो, रियल पराजित

स्पेनिस ला लिगको १०१८÷१९ को सिजन आइतबारबाट सकिएको छ । लिगको ३ खेल बाँकी छँदै बार्सिलोनाले लागतार दोस्रो ला लिगा उपाधि जित्यो ।

ला लिगको अन्तिम खेलमा दुई ठूला क्लब बार्सिलोना र रियल म्याड्रिड जितबिहीन बनेका छन् । लिग विजेता बार्सिलोनाले बराबरीका साथ सिजनको अन्त्य गर्दा रियल भने पराजित भयो ।

च्याम्पियन बार्सिलोना इबारसँग २–२ गोलको बराबरीमा रोकियो भने रियल घरेलु मैदान सान्टियागो बर्नाबेउमै रियल बेटिससँग २–०ले पराजित भयो ।

मेसीले गरे २ गोल, तर रोकियो बार्सिलोना

च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगाको अन्तिम खेलमा कप्तान लियोन मेसीले २ गोल गरेपछि बार्सिलोना जित निकाल्न असफल भयो । आइतबार भएको मेसीको २ गोलको मद्दतमा बार्सिलोना इबारसँग २–२ गोलाको बराबरीमा रोकियो ।

इबरको घरेलु मैदानमा भएको खेलमा अग्रता पनि इबारले नै लिएको थियो । खेलको २०औं मिनेटमा मार्क क’क’रेल्लाले गोल गर्दै च्याम्पियन बार्साविरुद्ध इबारलाई सुरुवाती अग्रता दिलाए । तर, उसको अग्रता १० मिनेटभन्दा बढी टिक्न सकेन ।

१ मिनेटभित्र २ गोल गर्दै मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेसीले ३१ र ३२ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डी ब्लासिले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपपछि खेलमा कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

घरमै हार्‍यो रियल

खराब प्रदर्शनबाट गुज्रिएको रियल म्याड्रिड ला लिगाको अन्तिम खेलमा घरेलु मैदानमै पराजित भएको छ । ऊ लिगको अन्तिम खेलमा रियल बेटिससँग २–०ले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो २ गोल बेटिसले रियललाई स्तब्ध बनायो ।

खेलको ६१ औं मिनेटमा मोरोन मोरोनले गोल गर्दै बेटिसलाई अग्रता दिलाए । ७५ औं मिनेटमा जेसेले गोल गर्दै बेटिसलाई २–० को जित दिलाए ।

लिगको अन्तिम खेलमा प्रशिक्षक जिनेदिन जिदानले गेराथ बेल, इस्को, टोनी क्रुस, कासिमिरोलगायत अनुभवी खेलाडीलाई बेन्चमा राख्दै भिनिसियस जुनियर, ब्राहिम डियाज, फेड्रिको भाल्भार्डे, मार्कोस लोरेन्ट लगायतलाई मैदानमा उतारेका थिए ।