°
, June 2, 2023 in

ओमानसँगको खेल नेपालका लागि सेमिफाइनलको आधार

SHARE:

नेपाली क्रिकेट टिमले आजबाट दोस्रो पटक टि–२० विश्वकप खेल्ने सापना साकार बनाउने यात्राको थालनी गर्दैछ, ग्लोबल क्वालिफायरमा ओमानसँगको खेलसँगै । समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ ।

नेपालका लागि ट्वान्टी–२० विश्वकप छनोटमा ओमानसँगको पहिलो खेलमै जित हात पार्न सके नै सेमिफाइनल ढोका खुलेजस्तै हुनेछ । मस्कटमा चारदेशीय ट्वान्टी–२० शृंखलामा परीक्षणपछि नेपालले शुक्रबार घरेलु टोली ओमानसँग खेलेर विश्वकप छनोटको यात्रा सुरु गर्दै छ ।

नेपालजस्तै ओमानको हकमा यही लागू हुनेछ । पहिलो खेल अर्थात नेपालमाथि विजय हात पारे ओमानको सेमिफाइनल यात्रा लगभग निश्चितजस्तै हुनेछ । यस समूहमा रहेको अर्का दुई टोली फिलिपिन्स र क्यानडा हुन् । फिलिपिन्स निकै नवप्रवेशी टोली हो । यो टोलीविरुद्ध खेल्दा सबैको लक्ष्य विजयबाहेक रनरेट बढाउनु हुनेछ । नेपालले फिलिपिन्ससँग शनिबार खेल्नेछ ।

तीन वर्षपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको फिलिपिन्सबाहेक समूह ‘बी’ बाट नेपाल, ओमान, क्यानडामध्ये जुन कुनै टोली पनि सेमिफाइनलको हकदार छन् । त्यसमा नेपाल र ओमानको सम्भावना बढी देखिएको छ । तर पहिलो खेलमै यी दुई टोली आमनेसामने हुन लागेकाले सम्हालेर खेल्नु दुवैको उद्देश्य हुनसक्छ ।

सोमबार सम्पन्न चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपालले पहिलो खेलमा ओमानलाई नै हराएको थियो । ओमानलाई १३५–६ को स्कोरमा रोकेपछि दीपेन्द्रसिंह ऐरीको अविजित ७३ रनमा नेपालले ३ बलअगाडि लक्ष्य पूरा गरेको हो । नेपाल त्यसपछिका दुई खेलमा यूएई र आयरल्यान्डसँग पराजित भयो । नेपालपछि आयरल्यान्डसँग पराजित ओमानले अन्तिम खेलमा यूएईविरुद्ध जित पाएपछि रनरेटमा नेपाललाई पुछारतिर धकेलिदिएको थियो ।

चोटका कारण चारदेशीय ट्वान्टी–२० शृंखलामा एउटै खेल खेल्न नपाएका करण केसीले विश्वकप छनोट पनि गुमाइसकेका छन्, जुन नेपालका लागि ठूलो धक्का हो । तर प्रशिक्षक दासानायके भन्छन्, ‘१–२ खेलाडी घाइते भए पनि हामी राम्रो लयमा छौं । हाम्रा उत्कृष्ट खेलाडीहरू राम्रो स्थितिमा छन् । ब्याटिङ विस्तारै लयमा आउँदै छ, केही तयारी पूरा गर्न बाँकी छ ।’

करणको स्थानमा नेपालले गुलशन झालाई १४ सदस्यीय टोलीमा राखेको छ । बलिङ अलराउन्डर गुलशन बिहीबार रातिमात्र मस्कट पुग्ने भएकाले उनले शुक्रबार ओमानसँग खेल्ने सम्भावना कम छ । सन्दीपबाहेक नेपालबाट नियमीत स्पिनरहरू ओमानमा जम्न नसकेकाले सागर ढकालको पनि प्लेयिङ ११ मा पर्ने सम्भावना कमै छ ।

सागरले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानसँगको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दा ३ ओभरमा ३६ रन खर्चिएका थिए । त्यसपछि नेपालले अर्का देव्रेहाते स्पिनर शाहब आलमलाई यूएईसँगको खेलमा प्रयोग गरेको थियो । त्यसमा शाहब पनि चुटिए । पाँचौं बलरको भूमिका नेपालबाट दीपेन्द्र, विवेक यादव र आरिफ शेखले निभाउन सक्छन् । ब्याटिङमा निकै प्रभावकारी प्रदर्शन गरेका दीपेन्द्र अफ स्पिनमा पनि उपयोगी बनेका थिए ।

चारदेशीय ट्वान्टी–२० शृंखलामा ब्याटिङमा असफल रहे पनि भेट्रानद्वय ज्ञानेन्द्र मल्ल र शरद भेषावकरमाथि प्रशिक्षक दासानायकेले विश्वास देखाउँदै आएका छन् । ओमानसँगको निकै महत्त्वपूर्ण मानिएको खेलमा दासानायकेले यी दुईमध्ये एकलाई बाहिर राख्न सक्छन् । दुवैलाई खेलाएमा विवेक प्लेयिङ ११ बाहिर हुन सक्छन् ।

SHARE: