नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिम अब नयाँ जर्सीमा देखिने भएको छ। आसन्न ओमान भ्रमणमा नेपाली टिमले नयाँ जर्सी लगाउनेछ।

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ। सोमबार एक कार्यक्रम गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट टिमको आधिकारिक प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त रुपमा नेपाली टिमको नयाँ जर्सी सार्वजनिक गरे।

नेपाली टिमको जर्सी आदर्श पोखरेलले निर्माण गरेका हुन् । जर्सी डिजाइनका लागि माइ सेकेन्ड टिचरले खुला रुपमा आव्हान गरेको थियो, सोहीबाट आदर्शको डिजानइ छनोट भएको हो।

जर्सी डिजाइन गरेवापत आदर्शले १ लाख रुपैयाँ प्राप्त गरे । आदर्शलाई जर्सी सार्वजनिक कार्यक्रममै रकम प्रदान गरिएको थियो।

अब नेपाली टिमले ओमान हुने पपुवा न्युगिनीविरुद्धको २ खेलको एकदिवसीय सिरिज मार्फत नयाँ जर्सी लगाउने छन् । सिरिज सेप्टेम्बर ५ र ८ मा हुनेछ।

विश्वकप छनोटमा रुपमा रहेको विश्वकप लिग–२का ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले पपुवा न्युगिनीसँग सिरिज खेल्न लागेको हो। नेपाल ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म आयोजना हुनेछ।