नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक छान्नका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पाँच जना आवेदकसँग अन्तर्वार्ता लिएको छ ।
क्यानले पाँच जनाको अन्तर्वार्ता लिएको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । प्रशिक्षक छनोटका लागि क्यानले बनाएको पाँच सदस्यीय छनोट समितिले बुधबार पाँच जनाको अन्तर्वार्ता लिएको हो ।
प्रशिक्षक पदका लागि क्यानले सूचना जारी गरेपछि ६० जनाले आवेदन दिएका थिए । त्यसमा पहिलो चरणमा १५ जनाको नाम सर्ट लिस्ट गरेको छनोट समितिले पाँच जनाको अन्तर्वार्ता लिएको क्यानको कार्यवाहक सचिव प्रशान्त मल्लले बताए ।
अब क्यानले पाँच जनाको रिपोर्ट बनाएर आईसीसीलाई पठाउने छ । त्यसपछि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिनेछ । केही दिनभित्रै नेपाली क्रिकेट टिमले मुख्य प्रशिक्षक पाउनेछ ।