स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएका खेलमा रियल मालोर्काले जित निकाल्दा भ्यालेन्सिया र ग्रानडा तथा भिल्लारियल र स्पानियोलले बराबरी खेलेका छन्।
शनिबार राति भएको खेलमा मालोर्काले अलाभेसमाथि १–०को जित निकाल्दा भ्यालेन्सिाय र ग्रानडालाले १–१ गोलको बराबरी खेले भने भिल्लारियल र इस्पानियोल गोलरहित बराबरीमा रोकिए।
अलाभेसकै मैदानमा मालोर्कालाई जित दिलाउन फेर निनोले निर्णायक गोल गरे। उनले ८०औं मिनेटमा गोल गरेका थिए । त्यसअघि ६६औं मिनेटमा रुवेन ड्वार्टेले रातो कार्ड पाएपछि अलाभेस १० खेलाडीमा समेटिएको थियो।
यस्तै, घरेलु मैदानमा १६औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै ग्रानडालाई अग्रता दिलाए । तर, खेल सकिन २ मिनेट बाँकी छँदा भ्यालेन्सिायाका कार्लोस सोलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
यस्तै अर्को खेलमा भिल्लारियल र स्पानियोलले गोलरहित बराबरी खेले। खेलमा दबाब बनाएपनि भिल्लारियलले स्पानियोलका पोस्टमा त्यतिधेरै आक्रमण गर्न सकेन।