आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ। युएईको शारजाहमा नेपाली समयअनुसार विहान सवा ११ बजे खेल सुरु हुनेछ।
हिजोबाट सुरु भएको नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिजमा युएईले विजयी सुरुवात गरिसकेको छ। युएईले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्यो।
पपुवा न्युगिनी र नेपालबीच एकदिवसीय खेलमा अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ।
गत वर्ष ओमानमा भएको दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा १५१ रनको जित निकालेको थियो।
लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ।
हिजो हात पारेसँगै युएई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको थियो। उसले १५ खेलबाट १८ अंक जोडेको छ। तेस्रो स्थान झरेको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।
चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ८ खेलबाट ८ अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १३ खेल खेल्दा अंक जोड्न सकेको छैन।
लिग-२ मा नेपालले आफ्नो तेस्रो सिरिज खेल्न लागेको हो। नौं सिरिजमध्ये दुई सिरिज खेल्दा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् छैटौं स्थानमा छ।
यसअघि नेपालले अमेरिका र ओमानविरूद्ध दुई सिरिज खेलिसकेको छ। दुवै सिरिजमा नेपालले दुई दुई खेलमा जित हात पारेको थियो भने दुई दुई खेलमा पराजित भएको थियो।
युएईमा सुरू सिरिजमा नेपालले दुवै टिमसँग दुई दुई गरी कुल चार एकदिवसीय खेल खेल्नेछ।
सिरिजमा चार मध्ये तीन खेलमा जित हात पारे नेपाल अंक तालिकामा दुई स्थान माथि उक्लनेछ। दुई खेलमा मात्र जित हात पारेको अवस्थामा भने नेपालको स्थान परिवर्तन हुनेछैन।
सबै खेलमा जित हात पारे नेपाललाई थप फाइदा पुग्नेछ, राम्रो रन रेट भएमा नेपालले स्कटल्यान्डलाई समेत पछि पार्न सक्नेछ।
लिग-२ अन्तर्गत ७ सिरिजका २८ खेल खेल्न अझै बाँकी नेपालले सन् २०२३ पछि आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न सात टिम मध्ये शीर्ष तीनमा पर्नु पर्नेछ। शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्।
त्यसो नभए नेपालले प्लेअफको बाटोबाट आफ्नो एकदिवसीय मान्यता जोगाउन पर्ने हुन्छ। प्लेअफबाट पनि दुई टिमले विश्वकप छनोट खेल्न पाउनेछन्।