सागको बजेट पाँच अर्ब प्रस्ताव

नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका लागि करिब ५ अर्बको बजेट प्रस्ताव गरिएको छ । साग तयारी तथा व्यवस्थापन समितिले खेलकुद मन्त्रालयसमक्ष सागको बजेट पाँच अर्ब २६ करोड ५७ लाख ४२ हजार रुपैयाँ प्रतिवेदन प्रस्तुत गरेको हो ।

समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले आइतबार एक कार्यक्रमबीच खेलकुदमन्त्री जगतबहादुर सुनारसमक्ष १३औँ सागको बजेट प्रतिवदेन बुझाएका हुन् ।

प्रस्तुत बजेटमा राष्ट्रिय टिम तयारीतर्फ ८८ करोड १२ लाख, ६८ हजार रुपैयाँ उल्लेख छ । परिषद्ले १५ जेठदेखि सागको तयारीका लागि खेलाडीलाई पहिलो चरणमा क्लोजक्याम्पमा राखेको छ । परिषद्ले दुई चरण गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो । पहिलो चरणको क्लोजक्याम्प असारसम्म रहनेछ । त्यसपछि दोस्रो चरणको तयारी सुरु हुनेछ । परिषद्ले सागका लागि अन्तिम खेलाडी प्रतिस्पर्धाबाट छनोट गर्नेछ ।

समितिले खेलकुदमन्त्री सुनारलाई बुझाएको प्रतिवेदनअनुसार १३औँ सागमा सबैभन्दा बढी खर्च खेल सामग्री, उपकरण, पोसाक र सचिवालय सञ्चालनमा देखिनेछ । यस शीर्षकमा एक अर्ब २९ करोड ९१ लाख पाँच हजार रुपैयाँ छ । यसैगरी, आयोजक समितितर्फ २७ करोड, ९९ लाख २७ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

तयारी तथा व्यवस्थापन समितिले साग अवधिभर प्रयोग हुने भेन्युको समारोह व्यवस्थापनका लागि ७१ करोड ४७ लाख रुपैयाँ बजेट अनुमान लगाएको छ । यसमा प्रतियोतिगाको उद्घाटन र समापनका विशेष कार्यक्रम हुनेछ । यसैगरी, १३औँ साग अवधिमा बुलेटिन प्रकाशन गर्न आठ करोड ९५ लाख आठ सय रुपैयाँ बजेट राखिको छ । यसैगरी, स्वास्थतर्फ तीन करोड ४३ लाख ५२ हजार रुपैयाँ छ ।

१३औँ साग पोखरा र काठमाडौंमा हुनेछ । पोखरामा प्याराग्लाइडिङ, स्विमिङलगायत खेल हुने परिषद्ले जनाएको छ । १८औँ एसियाली खेलकुद प्रतियोगितामा रजत विजेता प्याराग्लाइडिङका खेलाडीले पोखरामा तयारी थालेका छन् । सातदोबाटोस्थित स्विमिङ समयमै तयारी नहुने भएपछि परिषद्ले पोखरामा पौडी आयोजना गर्ने सम्भावना छ । स्रोतसाधन परिचालनमा परिषद्ले २० लाख खर्च गर्नेछ । अतिथिसत्कारतर्फ एक करोड २९ लाख पाँच हजार रुपैयाँ रहेको छ ।

कार्यदलले सहभागी टोलीका सबै सदस्यको सुरक्षातर्फ ५० करोड २६ लाख बजेट अनुमान गरेको छ । मन्त्रालयले सुरक्षा निकायसँग यसका लागि सहकार्य गर्नेछ । खेलाडी, अफिसियल र अन्य व्यक्तिको आवास व्यवस्थापनका लागि ४५ करोड ८६ हजार रुपैयाँ बजेट निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद आयोजना हुँदा खेलाडीलाई तारे होटेलमा राख्ने व्यवस्था छ । यसैगरी, प्रत्येक भेन्युका लागि टोलीको आवत–जावत सहज बनाउन यातायात व्यवस्थापनमा १५ करोड ७१ लाख बजेट अनुमान कार्यदलको छ ।

खेलकुदमन्त्री सुनारले १३औँ साग राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडिएको बताएका छन् । उनले प्रतियोगिता सम्पन्न गर्न बजेटको निकै महत्वपूर्ण स्थान रहेको बताए । बजेट विभिन्न क्षेत्रका दक्ष तथा विज्ञसँग छलफल गरी निर्माण गरिएको उपाध्यक्ष तथा बजेट निर्माण कार्यदलका संयोजक तिम्सिनाले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.