१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाली टिम पारजित भएको छ । मंगलबारबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको क्रिकेटमा फिल्डिङ चुस्त बनाउन नसक्दा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भयो ।
नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि शम्मु असनले सर्वाधिक ७२ रन बनाए । उनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
असनले निशान फर्नान्डोसँग ९१ रनको साझेदारी गर्दै श्रीलंकालाई जित दिलाए । फर्नान्डोले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए । नेपालले ५ ओभरभित्रै श्रीलंका ३ टपअर्डर ब्याट्सम्यानलाई पभेलियन फार्काउँदै दबाब दिएको थियो ।
तर, फिल्डिङ चुस्त बनाउन नसक्दा असन र फर्नान्डोले त्यसको फाइदा उठाए । नेपालले सहज ५ क्याच छाडेका छन् । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आरिफ सेखले असन र फर्नान्डोको सहज क्याच छाडेका थिए । नेपालका पवन सर्राफले २ विकेट लिए भने सोमपाल कामी र सुशन भारीले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालको सदाझैं ओपनिङ राम्रो हुन सकेन । कप्तान छाडेपछि पहिलो पटक राष्ट्रिय टिममा खेलिरहेका पारस खड्का ५ बलमा १ रन बनाउँदै आउट भए । अर्का ओपनर कप्तान ज्ञानेन्द्र मल्लले २० बलमा २१ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७२ रन बनाए । उनले ४४ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । उनले पाचौं विकेटका लागि पवन सर्राफसँग ६२ रनको साझेदारी गर्दै नेपालको स्कोर विशाल बनाएका थिए । पवनले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए ।
यस्तै, विनोद भण्डारीले २३ बलमा २१ रन बनाए भने आरिस सेखले २ छक्का प्रहार गर्दै १५ बलमा १९ रन बनाए । श्रीलंकाका लागि कमिन्डु मेन्डिसले सर्वाधिक २ विकेट लिए भने असिथा फर्नान्डो, कविस्का अञ्जुला, डुविन्डु तिल्लकारत्नेले समान १ विकेट लिए ।
अब नेपालले बिहीबार भुटानसँग खेल्ने छ ।