१४औं साग खेलकुद मार्च २०२३ मा हुने

पाकिस्तानले आयोजना गर्ने १४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना मिति टुंगो लागेको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलले सन् २०२३ को मार्च महिनामा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।

काउन्सिलको सोमबार बसेको भर्चुअल मिटिङले १४औं सागको मिति टुंगो लगाएको हो। पाँच शहरमा आयोजना हुने प्रतियोगितामा २७ खेल समावेश हुने भएका छन्।

प्रतियोगिताका मुख्य खेलहरू लाहोरमा खेलाइनेछ भने अन्य खेलहरू इस्लामावाद, फैसलावाद, गुजरनवाला र सिलाकोटमा हुनेछन्।

नेपालले आयोजना गरेको १३औं सागको समापन समारोहमा नेपालले १४औं साग आयोजनाका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको थियो। नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष सइद आरीफ हेसनलाई १४औं साग आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए ।

घरेलु भूमिमा भएको १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो ।

Facebook Comments Box