म्याच फिक्सिङमा सागर थापासहित ६ जनाले पाए सफाइ

म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ खेलाडीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टिमका कप्तान सागरसहित ६ जनालाई सफाइ सफाइ दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसलालाई सदर गर्दै उनीहरुलाई सफाइ दिएको हो । विशेष अदालतले २०७५ जेठ २४ गते सागरसहित ६ जनालाई सफाइ दिने फैसला गरेको थियो ।

म्याच फिक्सिङको आरोपमा प्रहरीले २०७२ असोज २७ गते सागरसहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई पक्राउ गर्दै कात्तिक २२ गते राज्यविरुद्धको कसूरमा विशेष अदालतमा मुद्दा चलाइएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।

यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो। उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो। तर अदालतमा यी कुरा पुष्टि हुन नसकेपछि सफाइ दिएको हो।