आठौँ राष्ट्रिय खेलकुद चैत १९ गतेबाट र उद्घाटन २५ गते गर्न प्रस्ताव

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी समितिको बैठकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत १९ गतेबाट गर्न प्रस्ताव गरेको छ । यस्तै कार्यसमितिले प्रतियोगिताको औपचारिक उद्घाटन भने २५ गते गर्न पनि प्रस्ताव गरेको छ ।

प्रदेश ५ मा हुँने लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितको मिति तोक्न बसेको राखेप कार्यसमिति बैठकले प्रतियोगिता चैत १९ गतेबाट गर्ने, उद्घाटन २५ गते गर्न र समापन चैत ३० गते गर्न राखेप बोर्डलाई सिफारिस गरेको हो ।

राखेपको बोर्ड बैठक बसेर प्रतियोगिताको मितिको अन्तिम टुंगो लगाउने छ । राखेपको बोर्ड बैठक चैतको ५ वा ६ गते गर्ने तयारी भइरहेको छ ।

पूर्वाधार निर्माणा ढिलाई हुँदा प्रतियोगित पटक पटक सार्नु परेको राखेप सदस्यसचिव केशवकुमार विस्टले जानकारी दिए । ‘हामीले २५ चैतमा उद्घाटन र ३० चैतमा समापन हुने मिति प्रस्ताव गरेका छौँ,’ विष्टले भने । यसअघि परिषद्ले २३ चैतमा प्रतियोगिताको उद्घाटन मिति प्रस्ताव गरेको थियो । तर, पूर्वाधार सम्पन्न नहुँदा परिषद्ले नयाँ मिति तय गरेको हो ।

आठौँ राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज रंगशालाको भिभिआइपी प्याराफिटबाहेक अन्य क्षेत्रका भौतिक पूर्वाधार निर्माण कार्य लगभग सम्पन्न भइसकेका छन् । भिभिआइपी प्याराफिट समयमै नसकिँदा प्रतियोगिताको मिति सरेको सदस्य सचिव विष्टले जानकारी दिए । अहिले भिभिआइपी प्याराफिटका सामग्री भारतको कोलकातामा रोकिएको छ । त्यही सामान उपलब्ध नहुँदा भिभिआइपी प्याराफिट निर्माण कार्यमा समस्या आएको उनले बताए ।

आठौँ राष्ट्रिय खेलकुदका लागि निर्माण भइरहेका पूर्वाधारहरू आसन्न १३औँ दक्षिण एसियाली खेलकुदमा समेत प्रयोग हुनेछन् । सोही लक्ष्यका साथ अहिले नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको रंगशाला र अन्य पूर्वाधार बनेका छन् । पूर्वाधार निर्माणमा अहिलेसम्म ७० करोड रुपैयाँ खर्च भइसकेको सदस्यसचिव विष्टले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न राखेपले सरकारसँग ४५ करोड माग गरेको थियो । तर, अहिलेसम्म मन्त्रालयबाट प्रतियोगिताका लागि १८ करोड मात्र विनियोजन भएको जानकारी विष्टले दिएका छन् ।