मंसिर ३ गतेबाट आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगका सुरुआती २ चरणका खेल दशरथ रंगशालामा मात्र आयोजना हुने भएको छ। लिगका नयाँ तालिका सार्वजनिक गर्दै एन्फाले दुई चरणका खेल दरशथ रंगशालामा मात्र आयोजना गर्ने निर्णय गरेको हो।
एन्फाले मंगलबार सार्वजनिक गरेको नयाँ तालिका अनुसार दुई चरणका खेला सातामा ४ दिन आयोजना हुनेछ । ३ दिन २ खेल आयोजना हुने छ भने १ दिन एउटा मात्र खेल हुनेछ। दुई खेल भएको दिन पहिलो खेल १ बजे र दोस्रो खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ। एउटा खेल हुँदा अपरान्ह खेल ४ः४५ बजे हुनेछ।
मंसिर ३ गते हुने उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्। फ्लड लाइटमा हुने खेल खेल ४ः४५ बजे सुरु हुने छ। दोस्रो दिन हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच १ बजे खेल हुनेछ भने पौने ५ बजे च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।
एन्फाले यसपटक लिग हेर्नका लागि टिकट मूल्य साधारण प्यारापिटतर्फ एकसय र भिआईपीतर्फ ५ सय रुपैयाँ तोकेको छ। दशरथ रंगशलामा हुने खेलहरु कान्तिपुर टेलिभिनबाट प्रत्यक्ष प्रशारण हुनेछ।
यस्तै लिगका खेलहरु च्यासल फुटबल मैदानमा पनि गर्ने तयारी एन्फाले गरेको छ । साथै पहिलो पटक काठमाडौं बाहिर पोखरामा पनि लिगका खेलहरु गर्ने एन्फाको योजना छ ।