कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम उच्च भएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) सर्वाजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नदिने सिफारिस गरेको छ।
सिसिएमसीको यस्तो निर्णयसँगै काठमाडौंमा सहिद स्मारक ए डिभिजन लिग हुने या नहुने अन्योल देखिएको छ। ए डिभिजन लिगको अहिले आठौं चरण चलिरहेको छ।
के हुन्छ त ए डिभिजन लिग भन्ने विषयमा बुझ्दा अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले औपचारिक निर्णय आएपछि लिगका विषयमा निर्णय गरिने जानकारी दिए।
‘सिसिएमसीले २५ जनाभन्दा बढी भेला हुन नदिन सिफारिस गरेको सुनेको छु, हामीलाई अहिलेसम्म हुने जानकारी आएको छैन’ तुलाधरले भने, ‘औपचारिक पत्र आएपछि निर्णय गर्छौं । अहिल्यै केही भन्न सकिँदेन।’