°
, June 1, 2023 in

आज सकिँदै ए डिभिजन लिग

SHARE:

सहिद स्मारक ए डिभिजन लिग २०७८ आज सकिँदै छ । शनिबार हुने तीन खेलसँगै यो सिजनको लिग सकिने छ।

यो पटक च्याम्पियन होड अघिल्लो सिजनको जस्तो रोमाञ्चक रहेन । दुई खेल अवागै च्याम्पियनको टुंगो लागिसकेको छ। यस्तै, लिगमा रेलिगनमा पर्ने दुई टिमको पनि टुंगो यसअघि नै लागिसकेको छ।

मछिन्द्रले लागतार दोस्रो पटक लिग उपाधि जित्दा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानद्वय अनिल गुरुङ र विराज महर्जनको टिम ब्रिगेड बोइज र च्यासल युथ क्लब रेलिगेसनमा परेका छन्।

आजको खेलपछि दोस्रो र तेस्रो स्थानमा रहने टिमको पनि टुङ्गो लाग्नेछ । च्याम्पियन बाहेक यस सिजन दोस्रो र तेस्रो स्थानमा रहने टिमले पनि नगद पाउने भएकाले महत्वपूर्ण छ ।

लगातार दोस्रो पटक च्याम्पियन बनेको मछिन्द्रले लिगको अन्तिम खेल एपीएफ एफसीसँग खेल्नेछ । मछिन्द्र यस सिजन अपराजित छ । एपीएफ विरुद्ध पनि अपराजित रहँदै लिगको ट्रफी उचाल्ने मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताइसकेका छन् ।

मछिन्द्रले १२ खेलमा १० जित र २ बराबरी खेलेको छ । मछिन्द्रको ३२ अंक छ । पहिलो खेलमा एनआरटी विरुद्ध एक गोल व्यहोरेको मछिन्द्रले त्यसपछिका ११ खेलमा कुनै गोल खाएको छैन ।

उता एपीएफ सुरुवाती तीन खेल हारेपछि लगातार ९ खेलमा अपराजित छ । कुनै बेला रेलिगेसनमा संघर्ष गरेको एपीएफ मिड टेबलमा लिग सकाउने लक्ष्यमा छ। एपीएफ १२ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा छ । यदि मछिन्द्रलाई स्तब्ध पार्न सके एपीएफ संकटालाई पछि पार्दै सातौं स्थानमा पुग्नेछ।

मछिन्द्र र एपीएफको खेल साढे ४ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । त्यसअघि नै आज दुई खेल हुनेछन् । जसमा त्रिभुवन आर्मी एफसी र मनाङ मर्स्याङ्दी क्लब तथा एनआरटी र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै खेल एकै समय अर्थात दिउँसो १ बजे सुरु हुनेछ । आर्मी र मनाङबीचको खेल दशरथ रंगशालमा तथा एनआरटी र पुलिसको खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

आर्मी, एनआरटी र मनाङ तीनवटै क्लब दोस्रो बन्ने होडमा छन् । आर्मी २२ अंकसहित दोस्रो स्थानमा छ भने एनआरटी र मनाङ समान २० अंकबाट क्रमशस्चौथो र पाँचौ स्थानमा छ ।

अन्तिम खेलमा मनाङलाई पराजित गरे र बराबरी खेले आर्मी दोस्रो बन्नेछ । यदि आर्मी मनाङसँग पराजित भएमा र एनआरटीले पुलिसलाई पराजित गरेमा एनआरटी दोस्रो बन्नेछ । एनआरटी र मनाङ दुवै विजयी भएको अवस्थामा दुवैको समान २३ अंक हुनेछ । यस्तोमा हेड टु हेडमा अघि रहँदै एनआरटी अघि रहँदै दोस्रो हुनेछ ।

मनाङले दोस्रो स्थानमा लिग सकाउनका लागि भने आर्मीलाई हराउनुपर्नेछ भने एनआरटी पनि पुलिससँग पराजित हुनुपर्नेछ। यस सिजन लयमा नरहेको पुलिस १२ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ । एनआरटीलाई पराजित गरेमा पुलिसले नवौं स्थानमा लिग सकाउनेछ ।

यी दुईमा आज अर्को एक क्लबको नजर पनि रहनेछ । यसै सिजनदेखि ए डिभिजन लिग खेलेको सातदोबाटो युथ क्लब २१ अंकसहित अहिले तेस्रो स्थानमा छ। यदि एनआरटी र मनाङ पराजित भएमा सातदोबाटोलाई त्यसको फाइदा पुग्नेछ र तेस्रो स्थानमै लिग सकाउनेछ ।

SHARE: