राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ए डिभिजन लिग तेस्रो स्थानमा सकाएको छ । शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ले हराउँदै एनआरटी लिगमा तेस्रो बनेको हो।
जितसँगै एनआरटीले आर्मीसँगै समान २३ अंक जोडेपछि हेट टु हेडमा पछि पर्दै तेस्रो भएको हो । तेस्रो भएसँगै उसले २४ लाख रुपैयाँ प्राप्त गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै एनआरटीले जित निकालेको हो । उसका लागि मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे ।
खेलमा आत्मघाती गोलमार्फत १२औं मिनेटमा पुलिसले अग्रता लियो । एनआरटी का शिव गुरुङले रवि पासवानको प्रहार क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको एनआरटीले दोस्रो हाफमा ३ गोल गदैृ जित निकाल्यो।
४७औं मिनेटमा मेसुकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले कप्तान दर्शन गुरुङको पासमा गोल गरेका थिए । ६२औं मिनेटमा मेसुकेले नै एनआरटीलाई अग्रता दिलाए । यो पटक उनले एरिक विष्टको फ्रिकिकलाई सदुपयोग गरे । ८३औं मिनेटमा एकल प्रयासमा गोल गर्दै मेसुकेले लिगको अन्तिम खेलमा ह्याट्रिक पूरा गरे।
एनआरटी २३ अंकका साथ तेस्रो स्थानमा रहँदा यो सिजन खराब प्रदर्शन गरेको पुलिस क्लब १२ अंक जोड्दै ११औं स्थानमा रह्यो।