सहिद स्मारक ए डिभिजन लिगमा मनाङको खराब प्रदर्शन जारी नै छ। लिगमा मनाङले लगातार छैठौं हार बेहोरेको छ।
आइतबार भएको खेलमा मनाङ चर्च ब्वाइज युनाइटेडसँग ३–०ले पराजित भयो । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले गोल गरे।
कप्तान अनन्तले सुशील शाहको पासमा खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै मौसम सुब्बाले ५४ औं मिनेटमा दोस्रो र दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सिमन लिम्बुले तेस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित दिलाएका हुन् ।
यो जितसँगै चर्च ब्वाइजको १३ खेलबाट २१ अंक छ । २१ अंक नै भए पनि चौथो स्थानमा रहेको सातदोबाटो युथ क्बले १२ खेल मात्र खेलेको छ।
हारपछि मनाङ भने १३ खेलबाट १५ अंक बटुलेर १० औं स्थानमा झरेको छ । पछिल्ला ७ खेलमा जित विहीन रहेको मनाङले लगातार ६ खेल हारेको छ।