आयोजक साहरा क्लबलाई हराउँदै क्वाटरफाइनलमा पुगेको धरान एफसी विभागीय टिम एपिएफसँग पराजित भएको छ। शनिबार पोखरा रंगशालामा भएको खेलमा धरान डिफेन्डिङ च्याम्पियन एपिएफसँग २–०ले पराजित भयो।
धरानविरुद्ध एपिएफले दुवै गोल पहिलो हाफमा गरेको थियो । उसका लागि बिकु तामाङ र युवराज खड्काले गोल गरे।
धरानविरुद्ध एपिएफले ३ मिनेट अन्तरमा २ गोल गरेको थियो। ३६औं बिकुको गोलमा एपिएफले सुरुआती अग्रता लियो। ३९औं मिनेटमा युवराजले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए ।
त्यसपछि गोल नहुँदा डिफेन्डिङ च्याम्पियन एपिएफ २–०को जित निकाल्दै सेमिफाइनल पुग्यो । अघिल्लो सिजन एपिएफले फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
एपीएफ डिफेन्डिङ च्याम्पियन भएकोले सिधै क्वार्टरफाइनल खेलेको हो । एपीएफले पुस २० मा त्रिभुवन आर्मी र संकटा क्लबबीच हुने खेलको विजेतासँग सेमीफाइनलमा भिड्ने छ ।
प्रतियोगिताअन्तर्गत आइतबार चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच क्वार्टरफाइनल हुने छ ।