२२औं आहा–रारा पोखरा गोल्डकपको फाइनल आज पोखरा रंगशालामा हुँदैछ। शनिबार दिउँसो हुने खेलमा ए डिभिजन क्लब संकटाले अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्सको सामाना गर्दै छन्।
पोखरा रंगशालामा हुने खेलमा संकटा उपाधिमा दोस्रो पटक आफ्नो नाम लेखाउन आतुर छ भने बीवाईएससी पहिलो पटक आहा–राराको उपाधि जित्दै अमेरिका फर्कन चाहन्छ ।
सेमिफाइनलमा संकटाले एपिएफलाई हराएको थियो भने बीवाईएससीले अर्को ए डिभिजन क्लब चर्च बोइजलाई हराएको थियो ।
संकटाले १९औं संस्करणमा पहिलो पटक आहा–रारा गोल्डकप जितेको थियो । त्यतिबेला संकटाले फाइनलमा अफ्रिकन रुट्सलाई हराउँदै उपाधि जितेको हो ।
संकटालाई शुक्रबार दोस्रो पटक उपाधि जित्ने अवसर छ । टोली अहिले उच्च लयमा देखिन्छ । नयाँ खेलाडीहरूलाई टोलीमा अनुबन्ध गरेपछि संकटाको टोली बलियो देखिएको छ । संकटाले अहिले टोलीमा सुधार गर्दै सुनील बल, आयुष घलान, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापालाई अनुबन्ध गरी बलियो बनाएको हो ।
आहा–रारामा दोस्रो पटक सहभागी बीवाईएससी आहा–राराको कप बोक्दै आफ्नो भूमिमा जान चाहन्छ । बीवाईएससीका प्रशिक्षक प्रदीप हुमागाईं र उनको टोली मुख्यतः ‘एयर बल’ मा बलियो छ । सेमिफाइनलमा चर्च ब्वाइजलाई हराएपछि हुमागाईंले एयर बललाई नै केन्द्रमा राखेर खेल खेलिएको र फाइनलमा थप सुधार गरिने बताएका थिए ।
संकटाका प्रशिक्षक सल्यान खड्गी पनि बीवाईएससीको ‘फिजिकल’ पक्षले फाइदा गरे पनि आफूहरू रणनीतिक तरिकाले बलियो भएर उत्रने बताउँछन् । ‘खेलमा फिजिकलमात्र हुँदैन, ट्याक्टिकल पार्टमा बलियो भएर उत्रन्छौं,’ उनले भने । संकटाका कप्तान सुनील बलले फाइनलएकदमै प्रतिस्पर्धात्मक बन्ने बताए । ‘विदेशी क्लबसँगको खेल हाम्रा लागि कम्पिटिटिभ हुनेछ, सिक्न पाउनेछौं,’ सुनीलले भने ।
बीवाईएससीका प्रशिक्षक प्रदीप हुमागाईं प्रशिक्षकका रूपमा दोस्रो पटक आहा–रारा गोल्डकपको उपाधि जित्न चाहन्छन् । उनले यसअघि २०६९ सालमा थ्रीस्टार क्लबको प्रशिक्षकका भएर उपाधि जितेका छन् ।
शनिबार आफ्नो टोली मैदान उत्रँदा अघिल्ला दुई खेलको गल्ती सुधार्दै उपाधि जित्नेमा आशावादी छन् उनी । ‘अघिल्लो संस्करणमा केही गल्ती गर्दा सुरुकै खेलबाट बाहिरियौं । यसपालि भने अहिलेसम्म गरेका गल्ती फाइनलमा नदोहोरिने गरी खेल्ने र जित्नेमा आशावादी छौं,’ हुमागाईंले भने ।
टोलीका कप्तान पुजन थापा पनि खेलमा गल्ती हुनु सामान्य भए पनि त्यसलाई नदोहोर्याउनेमा ढुक्क देखिन्छन् । विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँमा पुरस्कार पाउनेछन् ।