मोफसलको चर्चित नकआउट फुटबल प्रतियोगिता ‘आहारारा पोखरा’ गोल्डकपको २२औं संस्करणमा १० टिम सहभागी हुने भएका छन्। प्रतियोगितामा ३ विभागीय, एक विदेशीसहित १० टिम सहभागी हुने आयोजक सहारा क्लबले जनाएको छ।
पुस १४ गतेबाट २३ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा एपीएफ क्लब, मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बीवाईएससी, मछिन्द्र, नेपाल पुलिस क्लब, संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखरा सहभागी हुनेछन्।
यो पटकबाट आहारारा पोखरा गोल्डकपले पुरस्कार राशी पनि बढाएको छ । आयोजक सहाराले अघिल्ला संस्करणभन्दा प्रथम पुरस्कारमा २ लाख र दोस्रोमा एक लाख रुपैयाँ वृद्धि गरेको हो। क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार आहारारा पोखरा गोल्डकप विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
सहारा क्लबले पहिले पुस १२ गतेबाट सुरु गर्ने समय तालिका सार्वजनिक गरे पनि १३ गते मैत्रीपूर्ण खेल भएका कारण २ दिनपछि सरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
१३ गते स्पेनको बी डिभिजनस्तरीय क्लब काथेरेन्यो र गण्डकी ११ बीच पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ।
आयोजक सहाराले यसै संस्करणदेखि प्रतियोगिताको नामसमेत परिवर्तन गरेको छ । लामो समय आहारारा गोल्डकपका नामबाट भएको प्रतियोगितालाई यसै संस्करणदेखि ‘आहारारा पोखरा गोल्डकप’मा परिवर्तन गरेको हो ।
२१औं संस्करणकाे उपाधि एपिएपफले जितेकाे थियाे।