नेपाली ओपनर आसिफ शेखले एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन्। आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफले एकदिवसीय क्रिकेटको पहिलो शतक प्रहार गरेका हुन्।
टियु क्रिकेट मैदानमा उनले १०१ बलमा १० चौका र २ छक्काको सहयोगमा शतक पूरा गरे । सेमो कामेइको बलमा आउट हुनुअघि उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रन बनाए।
योसँगै एकदिवसीयमा शतक प्रहार गर्ने उनी पाँचौं खेलाडीका छन् । यस्तै, उनी नेपालका लागि एकदिवसीय खेलमा १ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने। यसअघि कप्तान रोहितकुमार पौडेलले यो उपलब्धि हासिल गरेका थिए।
सन् २०२१ मा पिएनजीविरूद्धनै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका आशिफले ३२ खेल खेलेका छन्। यसअघि उनको एकदिवसीयमा उच्च स्कोर ९० रन थियो।